मेलम्ची । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित समस्या समाधानको पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न आज सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मुहान क्षेत्रमा पुग्नुभएका प्रधानमन्त्री दाहालले याङ्ग्री र लार्के खोलाबाट थप पानी ल्याउने विषयमा काठमाडौँ पुगेर गृहकार्य गर्ने बताए ।
त्यसका लागि आवश्यक बजेटको व्यवस्था मिलाउने उनको भनाइ थियो । सो क्रममा प्रधानमन्त्री दाहालले आयोजनाको मुहान र मुख्य सुरुङ रहेको अम्बाथानमा मेलम्ची खानेपानी आयोजनाका सम्बन्धमा जानकारी लिएका छन् । आयोजनाका बारेमा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले उनलाई जानकारी गराए ।
प्रधानमन्त्री दाहालसँगको भेटमा हेलम्बु–१ का वडाध्यक्ष दावा ग्याल्जेन लामाले यस क्षेत्रका स्थानीयले भोग्दै आएका समस्या समाधान गर्न सरकारले पहल गर्नुपर्ने बताएका थिए । उनले हेलम्बु–१ मा करिब नौ किलोमिटर सडक तत्काल कालो पत्र गर्नुपर्ने अवस्था रहेकाले सरकारको ध्यानाकर्षण गराएका थिए ।प्रधानमन्त्री दाहाल आज राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न मेलम्ची आइपुगेका हुन् ।
उनलाई मेलम्चीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलगायतले स्वागत गरेका थिए ।गौरवको आयोजनाको प्रभावकारी सञ्चालन तथा निर्माणमा तीव्रता ल्याउन प्रधानमन्त्री दाहालले स्थलगत अवलोकन गर्दै आएका छन् । उनका साथमा खानेपानी मन्त्री महिन्द्र राय यादव रहेका छन् । विसं २०७८ असार १ गते मेलम्ची खोलामा बाढी र पहिरो आउँदा खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो । वर्खा सकिएपछि मुहान क्षेत्र मर्मत गरेर आयोजना पुनः सञ्चालन गरिएको थियो ।
काठमाडौँ उपत्यकामा विद्यमान खानेपानी अभावको दिगो एवं दीर्घकालीनरुपमा समाधान गर्ने र उपत्यकाका बासिन्दाको स्वास्थ्य स्थिति तथा जीवनस्तर सुधारमा योगदान पुर्याउने उद्देश्यले मेलम्ची खानेपानी आयोजना निर्माण गरिएको हो । सिन्धुपाल्चोकको हेलम्बु गाविसअन्तर्गत मेलम्ची खोलाको रिवर्मामा मुहान (हेडवर्क) निर्माण गरी सुन्दरी जलसम्म २६ दशमलव ५ किलोमिटर लामो सुरुङ निर्माण गरेर पानी ल्याइएको छ । सुरुङका माध्यमबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ उपत्यकामा ल्याइने गरिएको छ ।
विसं २०७७ चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायी रुपमा काठमाडौँ उपत्यकामा वितरण थालिएको थियो । विसं २०७८ असारमा मेलम्ची खोलामा आएको बाढी र पहिरोले मुख्य सुरुङबाहेकमा क्षति गरेपछि पानी वितरण रोकिएको थियो । मुहानमा मर्मत गरेर २०७८ चैतदेखि पुनः मेलम्चीको पानी वितरण थालिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ असार २०८०, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्मा प्रधानमन्त्री प्रचण्डले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुँदै
मेरो विश्वासको मत सङ्ख्याको पहल होइन, प्रतिवाद र प्रतिरोधको पहल हो : प्रधानमन्त्री प्रचण्ड
राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजान प्रधानमन्त्री प्रचण्डको आग्रह
संविधानमा माओवादीको सबैभन्दा ठुलो लगानी छ, यसलाई कमजोर बनाउन दिइन्न : प्रधानमन्त्री प्रचण्ड
समाजवादको आधार तयार पार्न सरकार लागिपरेको छ : प्रधानमन्त्री प्रचण्ड
संसद्मा प्रधानमन्त्री प्रचण्डले दिएको जवाफ (पूर्णपाठ)