सिके राउत र रेशम चौधरीबीच भेटघाट

सफल खबर संवाददाता

शुक्रबार, ०१ असार २०८०, १४ : ४४
सिके राउत र रेशम चौधरीबीच भेटघाट

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउत र नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीबीच भेटघाट भएको छ । जेलबाट रिहा भएपछि नेता चौधरीले पहिलो पटक जनमत पार्टीका अध्यक्ष राउतलाई उनकै पार्टी कार्यालयमा गएर भेटेका हुन् । त्यसअघि जनमत पार्टीका अध्यक्ष राउतले चौधरीलाई जेलमै पुगेर भेट्ने गरेका थिए । बिहीबार नेता चौधरी जनमत पार्टीको कार्यालयमै राउतलाई भेट्न पुगेका थिए ।

नेता चौधरीले भने, ‘यो समान्य राजनीतिक भेटघाट मात्र हो, जेलबाट निस्केपछि सबै साथीभाइ तथा नेताहरुलाई भेट्ने क्रममा राउतजीलाई भेटेको हुँ भेटघाटको खास उद्देश्य थिएन ।’अगामी दिनमा कसरी मिलेर जाने भन्ने विषयमा यसपछिका भेटमा छलफल हुने बताउँदै उनले परिवर्तनका लागि वैकल्पिक शक्तिहरु मिल्नुपर्नेमा जोड दिए ।  नेता चौधरी जेलमा भएका बेला नागरिक उन्मुक्ति र जनमत पार्टीबीच कार्यगत एकताका लागि सहमति भएको थियो ।

तर त्यो सहमतिअनुसार अहिले काम भएन । दुवै दल सरकार निर्माण, राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव लगायतमा फरक बाटो हिँडेका थिए । चौधरी भन्छन्, ‘त्यो बेलाको अवस्था फरक थियो, त्यही भएर सहकार्य नभएको होला, अगामी दिनमा हामी छलफल गरेर अगाडि बढ्छौं ।’ 

प्रतिक्रिया दिनुहोस