प्रस्तावित प्रधानन्यायाधीश कार्कीमाथि सांसदहरूको प्रश्न : जग्गा हडपेको हो कि हैन, घुस खाएको हो कि हैन ?

सफल खबर संवाददाता

शुक्रबार, ०१ असार २०८०, ०९ : २६
प्रस्तावित प्रधानन्यायाधीश कार्कीमाथि सांसदहरूको प्रश्न : जग्गा हडपेको हो कि हैन, घुस खाएको हो कि हैन ?

काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथि संसदीय सुनुवाइ समितिमा सांसदहरूले प्रश्नै प्रश्न सोझ्याएका छन् । 

शुक्रबार सिंहदरबारस्थित सुनुवाइ समितिको हलमा बिहान ८ बजेदेखि भइरहेको सुनुवाइ समितिको  बैठकमा सांसदहरूले कार्कीमाथि न्यायिक सुधारका विषय तथा उनका व्यक्तिगत काम कारवाहीका बारेमा प्रश्न गरिरहेका छन् ।

सांसदहरूले अदालतमा भ्रष्टाचार बढेको, गरिबले सहज रूपमा न्याय पाउने अवस्था नरहेको, कार्कीले फैसला गरेका मुद्दा विवादास्पद रहेको, घुस खाएको लगायतका प्रश्नहरूको वर्षा गरेका छन् । 

पदम गिरी 

अदालतमा गएर इतिहास रच्छु भन्ने तपाईँको के योजना छ ?

देवेन्द्र दाहाल

बिचौलिया नियन्त्रणका लागि छुट्टै कानुन बनाउन पहल गर्ने बताउनुभएको छ, छोटो अवधिमा कसरी काम गर्न सक्नुहुन्छ ?

ललितपुरको गोदावरीमा जग्गा हडपेको आरोप छ ? भवन विभागले बनाउनुपर्ने भवन सर्वोच्च आफैले निर्माण गरेर आर्थिक चलखेल गरेको आरोप छ, बिचौलियामार्फत घुस खाएको आरोप छ । बैंकिग कसुरमा परेका व्यक्तिबाट पैसा खाएको, हेर्न नमिल्ने मुद्दा आफ्नै इजलासमा  ल्याएको भन्ने आरोप छ ।  

जनार्दन शर्मा

सार्वजनिक विकास निर्माणका काम हुँदा अवरोध हुन्छ, त्यसमा निर्णय गर्दा अलि फरक ढङ्गले गर्न सकिँदैन र ?

न्याय सम्पादनको सिलसिलामा गरिबले न्याय पाउने अवस्था कसरी व्यवस्था गर्न सकिन्छ ?

महेश कुमार बर्तौला 

न्यायालयप्रति नागरिकको भरोसा टुट्ने अवस्थामा पुगेको छ । त्यसप्रति भरोसा बढाउन के काम गर्नुहुन्छ ?कार्य योजना प्रस्तुत गर्दा सर्वोच्चमा मुद्दाको चाँङ्ग रहेको बताउनुभयो । मुख्य न्यायाधीश नै ६ जना खाली भएको देखिन्छ । सर्वोच्चमा मात्रै ७ जना न्यायाधीश  खाली भएको अवस्था छ । न्यायाधीश नियुक्तिमा बाधा के भएको हो । मुद्दाको थुप्रिनुमा तपाईँको भूमिका रहेन र ? यो छोटो समयमा यहाँले कसरी नियुक्ति गर्न सक्नुहुन्छ र ?तपाई न्यायपरिषदभित्र हुनुहुन्छ, बहालवाला न्यायाधीशले तपाईमाथि खुला रूपमा उजुरी गर्नुभएको छ, त्यस्ता न्यायाधीशलाई कारबाही गर्न सक्नुहुन्न ?

ज्ञानेन्द्र बहादुर कार्की 

म प्रश्नभन्दा केही जिज्ञासा राख्न चाहन्छु । तपाई सबैभन्दा कम समय प्रधानन्यायाधीश बन्दै हुनुहुन्छ । भष्टाचारको सूक्ष्म अनुगमन गर्ने, बिचौलिया नियन्त्रणका लागि छुट्टै संयन्त्र बनाउने बताउनुभएको छ । यो गर्न सक्नुभयो भने जनताले न्यायपालिकाकालाई सकारात्मक रूपमा लिन सक्नेछन् । छोटो अवधिमा सर्वोच्चमा थुप्रिएका मुद्दाको चाङ कसरी टुङ्गोमा पुराउनुहुन्छ ?

डोलप्रसाद अर्याल 

तपाईले प्रस्तुत गरेको कार्ययोजनामा सर्वोच्चमा भ्रष्टाचार रहेको बताउनुभएको छ, तपाईँको  नियुक्तिपछि भ्रष्टाचार थियो कि पहिलेदेखि थियो ?

प्रतिक्रिया दिनुहोस