सभापति देउवाद्वारा पूर्वसांसद जोशीको निधनप्रति दुःख व्यक्त

बुधबार, १६ साउन २०७५, १३ : १३
सभापति देउवाद्वारा पूर्वसांसद जोशीको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका पूर्व केन्द्रीय सदस्य तथा पूर्वसांसद कृष्णकुमार जोशीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले शोक विज्ञप्तिमार्फत नेता जोशीको निधनको खबरले मर्माहत र स्तब्ध बनाएको उल्लेख गर्दै मुलुकमा लोकतन्त्र स्थापनाको आन्दोलन र पार्टी संगठनमा जोशीले पु¥याउनु भएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहने बताउनुभएको छ ।

“उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको छ, उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछु, साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछु” विज्ञप्तिमा उल्लेख छ ।

पूर्व केन्द्रीय सदस्य जोशीको मंगलबार काठमाडौँस्थित आफ्नै निवासमा निधन भएको हो । विसं २०३४ मा काँग्रेस बैतडी जिल्ला कार्यसमितिको सभापति रहनुभएका नेता जोशी २०४५ सालमा काँग्रेस केन्द्रीय सदस्य हुनुभएको थियो ।

विसं २०४८ को आम निर्वाचनमा काँग्रेसका तर्फबाट बैतडी निर्वाचन क्षेत्र नं १ बाट विजयी हुनुभएका उहाँले लोकतन्त्र स्थापनाको संघर्षमा क्रियाशील रहँदा तीन वर्ष छ महिना जेल जीवनसमेत बिताउनुभएको काँग्रेसले जनाएको छ । उहाँका दुई छोरा र तीन छोरी हुनुहुन्छ ।

पूर्वसांसद जोशीको पार्थिव शरीरलाई आज बिहान १० बजेदेखि अपराह्न १२ बजेसम्म श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखी आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस