एनआरएनएको आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ओमानमा हुने

सफल खबर संवाददाता

बुधबार, ३१ जेठ २०८०, २१ : ४५
एनआरएनएको आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ओमानमा हुने

काठमाडौँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को  आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ओमानमा हुने भएको छ । बुधबार साँझ आयोजित पत्रकार सम्मेलनमा ‘अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार रेमिट्यान्सको सही लगानी राष्ट्र निर्माणको आधार’ भन्ने मुल नारासहित जुन २८ देखि ३० तारिखसम्म आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन  आयोजना गरिने जानकारी दिइयो ।  गैरआवासीय नेपाली संघको मध्य पूर्व क्षेत्रीय परिषद्को मुख्य आयोजना र राष्ट्रिय समन्वय परिषद् ओमानको अतिथ्यतामा सम्मेलन ओमानको मस्कटस्थित होटेल मस्कट होलिडेमा सम्मेलन हुनेछ ।  

सम्मेलनमा नेपाल सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत् सिंह भण्डारी, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया लगायतको उपस्थिति रहनेछ । 
मुख्यतया मध्य पूर्वमा रहेका नेपाली श्रमिकका सवाल, राष्ट्रिय अर्थतन्त्रमा ओझेलमा परेको उनीहरुको योगदान, श्रमिक र उनीहरुका परिवारको जीवनमा तात्विक परिवर्तन हुन नसकेको परिस्थितिलगायतका एजेन्डामा छलफल हुनेछ । 

सम्मेलनले मध्यपूर्वमा कार्यरत नेपाली माझ स्थानीय भाषा र कानूनमा ज्ञानको कमी तथा सूचना अभावलगायत विविध कारणले जेलजीवन बिताउनु परेको र काम गर्ने क्रममा गम्भीर दुर्घटनामा परी अंगभंग भएका श्रमिकका समस्या निराकरणका लागि सुझाव दिनेछ ।  वैदेशिक रोजगारीमा जाने नेपालीको जनचेतना वृद्धि र विदेशमा सिकेका ज्ञान तथा सीपलाई मातृभूमिमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा पनि सम्मेलनमा छलफल हुनेछ ।

 विदेशस्थित नेपाली नियोगमार्फत विदेशमा श्रम स्वीकृति एवं अनुगमनको व्यवस्था, श्रम स्वीकृति कार्यान्वयन, श्रम सीप बैंकको स्थापना, कामदार र सरकारी निकायबीच समन्वय, वैदेशिक रोजगारीमा गएकाको लागि सञ्चयकोषको व्यवस्था गर्न पनि सम्मेलनले नेपाल सरकारको ध्यानाकर्षण गराउनेछ । सम्मेलनमा गैरआवासीय नेपाली समुदायको आवाज उठाउने र उनीहरूका समस्याहरूको समाधानका लागि नेपाल सरकारसँग संवाद स्थापित गर्ने उद्देश्यले राखिएको छ । 

श्रमिकका मुद्दा सम्बोधनका लागि नेपाल सरकार तथा सरोकारवाला निकायको ध्यानाकर्षण गराउने उद्देश्यले आयोजना गर्न लागिएको यो सम्मेलन पूर्णतः श्रमिक केन्द्रीत हुने भएकोले  उनीहरुका अभिव्यक्ति, अनुभव र विचार व्यक्त गर्ने अवसर समेत प्रदान गरिने एनआरएनएले जनाएको छ ।
सम्मेलनमा मध्यपूर्वसहित विभिन्न मुलुकका करीब ५०० जना प्रतिनिधिको सहभागिता रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस