महानगरनगर उप प्रमुख अधिकारीद्वारा केरुङ्गा खोलाको नाप नक्सा गर्न निर्देशन

सफल खबर संवाददाता

सोमबार, २९ जेठ २०८०, १४ : ०३
महानगरनगर उप प्रमुख अधिकारीद्वारा केरुङ्गा खोलाको नाप नक्सा गर्न निर्देशन

चितवन । भरतपुर महानगरपालिका नगर उप प्रमुख चित्रसेन अधिकारीले केरुङ्गा खोलाको निरीक्षण एवं अनुगमन पश्चात् नाप नक्सा गर्न निर्देशन दिएका छन । नगर उप प्रमुख अधिकारीले सोमबार बिहान केरुङ्गा खोलाको निरीक्षण एवं अनुगमन गरेका हुन। केरुङ्गा खोलाको वास्तविक क्षेत्र के कति हो तत्काल नै नाप नक्सा गरेर छुट्टाउन मेरो निर्देशन छ, यसको कार्वान्यन खरायोको गतिमा हुनुपर्छ उप प्रमुख अधिकारीको ठाडो निर्देशन छ । 

उप प्रमुख अधिकारीले केरुङ्गा खोला महानगरको इतिहास भएको बताएका छन । यो खोला महानगरको इतिहास सग सम्बन्ध जोडिएको खोला हो उप प्रमुख अधिकारीले भने,यो खोला महानगरको गहना पनि हो । महानगरको बीच भागबाट बगेको यस खोलाको अवस्था काठमाडौँको टुकुचाजस्तो नहोस् भन्नका लागि महानगरपालिका सचेत छ, केरुङ्गा खोलालाई व्यवस्थित गर्न सकेको खण्डमा यसले महानगरको सुन्दरता र पहिचानलाई थप उचाईमा पुर्‍याउने बिश्वास महानगरपालिकाले लिएको उप प्रमुख अधिकारीले उल्लेख गरे । 

बिगतका बर्षहरुमा पनि महानगरपालिकाले केरुङ्गा खोलाको सिमाङ्कन तथा निरीक्षण गर्दै आइरहेको उल्लेख गर्दै उहाँले केरुङ्गा खोलामा भएको अतिक्रमणका सम्बन्धमा महानगर निकै गम्भीर रहेको पनि प्रष्ट पारे। यसको ब्यबस्थापन र सरक्षण गर्नु हाम्रो लागि चुनौती पनि छ तर यो हाम्रो लागी इतिहास फर्काउने काम पनि हो । तिनवटा मुहानको श्रोतलाई ब्यबस्थित गर्नुको साथै कल्भर्ट निर्माण गर्न पनि उप प्रमुखले निर्देशन दिए ।

भरतपुर महानगरपालिका वडा नम्बर ११ को गणेस्थानस्थित नारायणी लिफ्टको सी ‘टु’ र सी ‘थ्री’ क्यानलमा केरुङ्गा खोलाको मुहान रहेको छ । भरतपुर ११ को गणस्थानदेखि भरतपुर २४ को जगतपुरसम्म ३२ किलोमिटरको लम्बाइमा केरुङ्गा खोला फैलिएको छ ।उदगम स्थलमा तिनवटा मुहान भएको केरुङ्गा खोला दुई वटा बन्दै जगतपुर पुग्दा एउटामा मात्र सिमित भएको छ ।भरतपुर महानगरपालिकाका वडाहरु क्रमशः ११, १२, ९, ८, ७, ५, ६, १३, १४, २१, २२, २३ र २४ भएर केरूङ्गा खोला बग्ने गरेको छ । भरतपुर महानगरपालिका वडा नं। ९ र ११ ले आफ्नो वडा सिमाना सम्म केरूङ्गा ड्रेनको सीमांकनसमेत गरिसकेका छन् ।

खोलाको दायाँवायाँ क्षेत्र नक्सामा कति मिटर छ भन्ने बारेमा भने नाप नक्सा गरेपछि मात्रै यकिन हुने भुमी ब्यबस्थापन शाखाका इन्जिनियर शिबहरी अधिकारीले जानकारी दिए। खोलाको अधिकांश क्षेत्र स्थानीयहरुले अतिक्रमण गरेको र पटक पटक अनुरोध गर्दा पनि अटेरी गर्ने गरेको इन्जिनियर अधिकारीको भनाइ छ । भरतपुर महानगरपालिकाको दीर्घकालीन योजना अनुसार आगामी दिनमा जगतपुर सम्म नै यसको ब्यबस्थापन गरिने भएको छ । वर्षातको समयमा भरतपुर ११ र १२ का धेरै क्षेत्र वर्षेनी डुबानमा पर्ने गरेका छन् । 

महानगरको गौरबको आयोजनामा रहेको केरूङ्गा खोला व्यवस्थित भएपछि डुंगा सयर, दुवैतर्फ पार्क निर्माण, दुवैतर्फ साइकल लेन, पैदल बाटो, मिनी सप, विभिन्न स्थानमा आकर्षक पुल सहितको हरियाली रहने छ । जसको डिपिआर समेत भइसकेको छ । यस खोलालाई व्यवस्थित गरेपछि आन्तरिक तथा बाहिय  पर्यटकहरुको चहलपहल बढने महानगरपालिकाले बिश्वास लिइएको छ ।  उक्त खोलामा अहिले पनि प्रदेश सरकारको सहयोगमा रिटेनीङ्ग वाल तथा सियर वाल निर्माण कार्य भइरहेको छ । 

अनुगमनमा सम्बन्धित वडाका अध्यक्षहरु,महाशाखाका प्रमुख तथा इन्जिनियरहरु, सरोकारवाला तथा पत्रकारहरुको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस