सुनकोशी नदीमा बेपत्ता भएका थप एकजनाको शव भेटियो

सफल खबर संवाददाता

शनिबार, २७ जेठ २०८०, १५ : ४७
सुनकोशी नदीमा बेपत्ता भएका थप एकजनाको शव भेटियो

काठमाडौं । सुनकोशीमा सिटिइभिटीका बेपत्ता भएका थप एक कर्मचारीको शव फेला परेको छ । शनिबार बिहान पुर्वीनवलपरासी प्रगती नगरपालिका–७ बस्ने ५६ वर्षीय यमप्रसाद भुर्तेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

गत जेठ १९ गते शुक्रबार सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनमा गाडी दुर्घटना हुँदा सुनकोशी नदीमा खसेको थियो । सो दुर्घटना हुँदा दुई जना कर्मचारीको शव गत मंगलबार फेला परेको थियो । भुर्तेलको शव शनिबार दुर्घटनास्थलबाट अन्दाजी ९५ किलोमिटर पर उदयपुरको ताप्ली गाउँपालिका–५ कुमलटारस्थित सुनकोशी नदी किनारमा फेला परेको हो ।

भक्तपुरबाट खोटाङ जाने क्रममा बीएबी ७४६७ नम्बरको स्कोर्पियो जिप दुर्घटना भएको हो । गाडीका चालक भने पौडिएर बाहिर निस्किएका थिए । तर, त्यसमा सवार सिटिइभिटीका प्रशासन महाशाखा निर्देशक ५७ वर्षीय सहसचिव कृष्णबहादुर केसी र इलामको फाकफोकथुम गाउँपालिका ४ फुएतप्पाका विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेलको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस