धितोपत्र बोर्डद्वारा मनकामना दरौंदी हाइड्रोको सेयरमा आवेदन नदिन आग्रह

सफल खबर संवाददाता

शुक्रबार, २६ जेठ २०८०, १३ : ४२
धितोपत्र बोर्डद्वारा मनकामना दरौंदी हाइड्रोको सेयरमा आवेदन नदिन आग्रह

काठमाडौ। नेपाल धितोपत्र बोर्डले मनकामना दरौंदी हाइड्रोपावरको सेयरमा आवेदन नदिन आग्रह गरेको छ । यस कम्पनीले आईपीओ जारी अनुमतिको लागि धितोपत्र बोर्डमा आवेदन नदिएको भन्दै सेयर खरिद नगर्न आग्रह गरेको हो ।

धितोपत्रसम्बन्धी ऐन अनुसार संगठित संस्थाहरुले निष्कासन गर्ने धितोपत्र निष्कासन गर्नुअघि बोर्डमा दर्ता गराउनु पर्ने व्यवस्था छ । सोहीअनुसार संगठित संस्थाले एक पटकमा ५० जना भन्दा बढीलाई धितोपत्र बिक्री गर्ने भएमा त्यस्तो धितोपत्र बिक्री वितरणको निमित्त सार्वजनिक निष्कासन गर्नुपर्ने भन्ने व्यवस्था रहेको छ ।

बोर्डको बिना स्वीकृति नेपालमा धितोपत्र निष्कासन गर्ने कार्य गैर कानुनी हुने र त्यस्तो धितोपत्रमा लगानी गर्दा विद्यमान कानुनी व्ययवस्थाबाट लगानीकर्ताहरुको हितसंरक्षण नहुने जनाएको छ । कम्पनीले उक्त व्यवस्था विपरित बुधबार एक राष्ट्रिय दैनिक पत्रिकामा सूचना जारी गरी सेयरमा आवेदन दिन आह्वान गरेको थियो । 

बोर्डले कुनै पनि कम्पनीले गर्ने धितोपत्रको सार्वजनिक निष्कासनमा लगानी गर्दा बोर्डबाट स्वीकृति प्राप्त गरेको निष्कासनमा मात्रै लगानी गर्न लगानीकर्तालाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस