चम्पानगरमा घाँसमा आधारित साईलेज उद्योग संचालनमा

सफल खबर संवाददाता

बुधबार, २४ जेठ २०८०, १७ : ००
चम्पानगरमा घाँसमा आधारित साईलेज उद्योग संचालनमा

भरतपुर । चम्पानगरमा घाँसमा आधारित साईलेज उद्योग संचालनमा आएको छ। भरतपुर १३, चम्पानगरमा रहेको उज्ज्वलदुग्ध उत्पादक सहकारी संस्था लि.ले पशु आहारा उत्पादनका लागि साइलेज (हरियो घाँसलाई सुकाएर पोषणतत्व कायमै रहने गरी तयार पारिने पशु आहारा) उत्पादन गरेको हो ।

भरतपुर महानगरपालिका कृषि तथा पशुपंक्षी व्यवसाय प्रर्वद्धन शाखा र उज्ज्वल दुग्ध उत्पादक सहकारी संस्थाको ५०÷५० प्रतिशत लागत सझेदारीमा स्थापना भएको भएको हो ।  कुल ४२ लाख ३५ हजार लागतमा स्थापना भएको उद्योगको बुधबार भरतपुर १३ का वडा अध्यक्ष प्रकाश दवाडीले एक कार्यक्रमका विच उद्धघाटन गरेका थिए ।

सुख्खा याममा घाँसको अभावमा दूध उत्पादन घट्ने हुँदा पहिले नै तयार पारेर राखेको साइलेज पशु आहारका लागि अत्यन्त उपयुक्त हुन्छ । उज्ज्वल दुग्ध उत्पादक सहकारी संस्था अध्यक्ष होमनाथ सुवेदीले भने —यो ठाउँका किसानहरुले मंगो मुल्यमा पराल किनेर ख्वाउन बाध्यता हो ।  किसानले अहिले पनि विभिन्न ठाउँबाट साइलेज दाना ल्याउने गर्नुभएको छ, अब स्थानीय स्तरमै उत्पादन हुदा यसले यहाँका किसानलाई लाभ मिल्ने छ । अहिले पशुपालनमा दाना, आहाराको लागत बढ्दा उत्पादन लागत पनि बढेको छ । हामी प्रति केजी साडे ११ रुपैँयाको दरले वितरण गर्ने छौँ जुन बजार मुल्य भन्दा सस्तो हो । 
उत्पादन लागत बढ्नु, बजारीकरणमा समस्या हुनु लगायत विविध समस्याका कारण कृषि तथा पशु किसान पलायन हुने क्रम बढेकाले यस पेसालाई जोगाउन उद्योग स्थापनाले टेवा पुग्ने विश्वास यहाँको किसानले लिएका छन् । 

२०४२ साल देखि दूग्ध संकलनसंगै पशुपालक किसानहरुका लागि काम गर्दै आएको यो सहकारीले साईलेजको विस्तारका लागि मकै खेतीमा समेत किसानलाई सहयोग गर्ने कार्यक्रमको समेत तयारी गरेको छ । देशकै मध्य भागमा रहेको चितवन जिल्ला दूधमा आत्मनिर्भर छ । यहाँका सहकारीहरुले पछिल्लो दिनमा व्यवसायीक रुपमा किसानको क्षमता बढाउन काम गर्दै आएका छन् । भरतपुर महानगरपालिकाले आफ्नो बजेटबाट प्रति लिटर ३ रुपैँया अनुदान पनि दिने गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस