अन्तर्राष्ट्रिय बजारको पहुँच स्थापना गर्न सरकार प्रतिवद्ध छः उद्योगमन्त्री रिजाल

सफल खबर संवाददाता

बुधबार, २४ जेठ २०८०, १४ : ५८
अन्तर्राष्ट्रिय बजारको पहुँच स्थापना गर्न सरकार प्रतिवद्ध छः उद्योगमन्त्री रिजाल

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साना तथा मझौला व्यवसायीको विकास, विस्तार र प्रवर्द्धनको लागि नीतिगत सुधारसहित अन्तर्राष्ट्रिय बजारको पहुँच स्थापना गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । 

साना तथा मझौला व्यवसायी महासंघ नेपालको २० औँ स्थापना दिवस दिवसको अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि साना तथा मझौला उद्योगको विकास, बिस्तार र प्रवद्र्धन गरिनुपर्नेमा सरकार दृढ रहेको बताएका हुन् । 

उनले व्यवसायको विकासका लागि आवश्यक नीतिगत सुधारसहित स्वदेशी बजार बिस्तारको साथै अन्तर्राष्ट्रिय बजारको पहुँच  स्थापित गराउनेतर्फ सरकारले आवश्यक पहल गर्ने बताए । 

उनले साना तथा मझौला उद्योगको विकास तथा बिस्तारले स्थानीयस्तरदेखि नै आर्थिक विकास तथा रोजगारीका अवसरहरु प्रदान गरी मुलुकलाई आर्थिक सम्मुनतिको बाटोमा अगाडि बढाउने भएको र यस्ता व्यवसायलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । 

उनले एक घर एक व्यवसायको सिद्धान्तलाई मुल नारा बनाएर सामान्य नागरिकलाई पनि उत्पादन तथा सेवामा उत्प्रेरित गरेकोमा महासंघको कार्यप्रति सराहना पनि गरे । 

प्रतिक्रिया दिनुहोस