यात्रुले फालेको फोहरका कारण विपी राजमार्ग दुर्गन्धित

सफल खबर संवाददाता

मंगलबार, २३ जेठ २०८०, ०७ : ३७
यात्रुले फालेको फोहरका कारण विपी राजमार्ग दुर्गन्धित

काठमाडौ । राजमार्गमा यात्रारत यात्रुहरू तथा सडक छेउमा सञ्चालनमा रहको होटल पसलहरूले जथाभावी फोहर फाल्ने गरेका कारण विपी राजमार्गमा दैनिकजसो दुर्गन्ध बढ्दै गएको छ ।

सार्वजनिक सवारीसधान तथा निजी सवारीसधान प्रयोग गरी यहाँका राजमार्गमा आवतजावत गर्ने यात्रुहरूले प्रयोग गर्ने पानी र जुस प्याक गर्न बनेको प्लास्टिकका बोतल, प्लास्टिक झोला र अन्य प्लास्टिकजन्य वस्तुहरू जथाभावी फाल्ने गरेका कारण सडक नाली र सडक छेउछाउमा निकै फोहर बढेको हो ।

त्यसरी सडक आसपासका क्षेत्रमा फोहर बढ्न थालेपछि सो राजमार्गले छोएका नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सडक क्षेत्रमा सरसफाइ अभियान थालेको छ ।

नगरपालिकाको दोस्रो कार्यकालको नयाँ नेतृत्व आएपछि राजमार्ग क्षेत्रलाई सरसफाइ गर्ने, सवारी चालकहरूलाई जथाभावी फोहर नफाल्न सचेत गराउने र होटल तथा पसल सञ्चालकहरूलाई समेत फोहर व्यवस्थित गर्न जनचेनामूलक अभियान सञ्चालन गर्दै आएको छ । 

यसैबीच, विश्व वातावरण दिवसको सन्दर्भ पारेर आयोजित राजमार्ग सरसफाइका क्रममा नगरप्रमुख कुन्साङ लामा र उपप्रमुख रत्नबहादुर लामाको नेतृत्वमा सो क्षेत्रमा सञ्चालित होटल, पसलका साथै निजी तथा सार्वजनिक यातायातका यात्रुले जथाभावी फोहर फालेको भेटिएपछि सचेत गराएको छ ।

उनीहरूलाई फोहोर नफाली सभ्य नागरिकको परिचय दिन र वातावरण सफा बनाउने काममा सहयोग गर्नसमेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस