हामीले ताली मात्र बजाएर बस्नु ठिक होइन : श्रममन्त्री भण्डारी

सफल खबर संवाददाता

आइतबार, २१ जेठ २०८०, १६ : १२
हामीले ताली मात्र बजाएर बस्नु ठिक होइन : श्रममन्त्री भण्डारी

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार क्षेत्रमा थुप्रै खालका समस्या रहेको बताएका छन् ।  वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गर्न मन्त्रालयले विभिन्न खालका सुधारका कदमहरू चाल्दै आएको उनले बताएका हुन् । मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले समस्या छ भन्ने थाहा हुँदाहुँदै पनि ताली बजाएर मात्र बस्न नहुने बताए । 

'हामीले ताली मात्र बजाएर बस्ने ठिक होइन। समस्या छ भन्ने थाहा हुँदाहुँदै चुप लागेर बस्नु भन्दा त्यसको समाधान गर्छौं,' मन्त्री भण्डारीले भने ।  मन्त्रालय ठगी नियन्त्रणमा निकै गम्भीर रहेको उनको भनाइ छ। हाल १५ देखि २० हजारको हाराहारीमा ठगीका उजुरी परेको भन्दै उनले ठगी नियन्त्रणको लागि मन्त्रालय गम्भीर भएर लागेको बताए । 

विदेशमा कागजात नभई बसेका श्रमिकलाई वैधानिक बनाउने प्रक्रिया समेत अगाडि बढेको उनको भनाइ छ।  स्थानीय तहलाई बलियो बनाएर रोजगार सेवा केन्द्रबाट सबैखालका समस्या समाधान गर्न खोजिएको उनले बताए । सेवा शुल्कको विषयमा समस्या रहेको भन्दै यसको समाधान गर्नुपर्नेमा उनले जोड दिए। 

'सरकारले १० हजार मात्र लिन पाउने भनेको छ । तर लाखौँ रुपैयाँ तिरेर श्रमिक गइरहेको यथार्थ हो। यो समस्या छ भन्ने थाहा छ। यसको समाधान त गर्नपर्छ', मन्त्री भण्डारीले भने। 

श्रम मन्त्रालयसँग कति जना विदेशबाट फर्किए भन्ने डाटा नै नभएको उनको भनाइ छ । श्रम बजारमा आवश्यकता अनुसारको श्रमिक बनाएर अगाडि बढ्ने नीति मन्त्रालयको रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस