युनाइटेडलाई हराउँदै सिटीले जित्यो एफएकप

एजेन्सी

आइतबार, २१ जेठ २०८०, ०६ : ५३
युनाइटेडलाई हराउँदै सिटीले जित्यो एफएकप

एजेन्सी । इल्की गुन्डोगानले दुई गोल गरेपछि म्यानचेस्टर सिटीले एफएकप फुटबलको उपाधि जितेको छ।

शनिबार भएको खेलमा सिटीले शहरी प्रतिद्वन्दी म्यानचेस्टर युनाइटेडलाई २-१ ले पराजित गर्दै सिजनको दोस्रो उपाधि जितेको हो। अब ‘ट्रेबल’ उपाधिका लागि अर्को साता च्याम्पियन्स लिगको फाइनलमा सिटीले इन्टरमिलानको सामना गर्ने छ।

शनिबार वेम्बलीमा भएको खेलमा सिटीले एफए कप इतिहासकै सर्वाधिक चाँडो गोलको कीर्तिमान बनाउँदै खेलमा सुरुवाती अग्रता लिएको थियो। सिटीले १२ सेकेन्डमानै गोल गर्दै खेलमा अग्रता लिएको थियो।

गुन्डोगानले केभिन डि ब्रुएनाको पासलाई डिबक्स बाहिरबाट गरेको सानदार भलि प्रहार गोलमा परिणत भएपछि सुरुवाती अग्रता लिएको थियो। तर ३३ औ मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमार्फत युनाइटेडलाई १-१ गोलको बराबरीमा ल्याए। भिएआरको सहयोगमा ज्याक गार्लिसको ह्यान्डबल गरेको पुष्टी गर्दै रेफ्रिले युनाइटेडलाई पेनाल्टीको मौका दिएका थिए। जसलाई सदुपयोग गर्दै युनाइटेडले खेल १-१ गोलको बराबरी गरेको थियो।

तर खेलमा अग्रता बनाउने क्रममा डि ब्रूएनाकै पासलाई अर्को आकर्षक भलिमार्फत गुन्डोगानलेनै ५१ औ मिनेटमा टिमलाई अग्रता दिलाए। जसलाई अन्तिम मिनेट सम्म कायम राख्न सिटी सफल हुँदा सिटीले उपाधि जित्दै कीर्तिमान नजिक आफूलाई पुर्‍याएको छ।

पेप ग्वार्डिओलाको सिटीले इंग्लिस प्रिमियर लिग र एफए कप जितेसँगै आगामी शनिबार ‘ट्रेबल’ जित्न सक्ने सम्भावनालाई कायम राखेको छ। अर्को शनिबार सिटी इस्तानबुलमा इटालियन प्रतिद्वन्दी इन्टरमिलान विरुद्ध च्याम्पियन्स लिगको फाइनल खेल्दै छ।

प्रतिक्रिया दिनुहोस