'अझै ३ दिन गर्मी घट्ने सम्भावना देखिन्न'

सफल खबर संवाददाता

शुक्रबार, १९ जेठ २०८०, ०९ : २५
'अझै ३ दिन गर्मी घट्ने सम्भावना देखिन्न'

काठमाडौ । अझै कम्तीमा ३ दिन वर्षाको खासै सम्भावना नभएकाले तापक्रम अर्थात् गर्मी घट्ने सम्भावना नदेखिएको मौसमविद्ले बताएका छन्। सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्ने गरिएको छ। 

मौसम बदली (आकाशमा बादल) र वर्षा कम भएसँगै केही दिनयता देशभर गर्मी बढेको छ। गर्मीले विशेषगरी तराई क्षेत्रको जनजीवन कष्टकर बनेको छ।

अत्यधिक गर्मीका कारण तराईका कतिपय स्थानमा विद्यालय नै बन्द गरिएका छन्। देशको पश्चिमी तथा पहाडी क्षेत्रमा भने मौसम बदली र छिटपुट वर्षा भइरहेकाले तुलनात्मक रूपमा गर्मी कम छ। 

तर काठमाडौं उपत्यकामा पनि केही दिनदेखि गर्मी महसुस भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आज बिहान ६ बजेतिरको मापनमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १८ डिग्रीमा उक्लिएको छ। यस्तै बिहीबारको मापनअनुसार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस पुगेको छ। 

काठमाडौं उपत्यकाबाहिर जनकपुर, सिमराजस्ता स्थानमा अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको मौसम महाशाखाको तथ्यांकमा उल्लेख गरिएको छ। 

‘अझै कम्तीमा ३ दिन वर्षाको खासै सम्भावना देखिएको छैन’, मौसमविद् झाले शुक्रबार बिहान नेपालखबरसँग भने, ‘त्यसैले अहिलेसम्मलाई गर्मी घट्ने अवस्था देखिँदैन।’

तापक्रम घट्न पानी नै पर्नुपर्ने हुन्छ। पहाडी भेगमा फाटफुट वर्षा भए पनि तराईमा भने वर्षा हुनै सकेको छैन। जसले गर्दा त्यहाँ बढी गर्मी भई जनजीवन प्रभावित हुने मौसमविद् बताउँछन्। 

प्रतिक्रिया दिनुहोस