गर्मी अझै बढ्ने सम्भावना, मनसुन ढिलो भित्रिने

सफल खबर संवाददाता

विहीबार, १८ जेठ २०८०, १६ : ३७
गर्मी अझै बढ्ने सम्भावना, मनसुन ढिलो भित्रिने

काठमाडौँ । काठमाडौँ उपत्यका सहित देशभरि गर्मी अझै बढ्ने भएको छ । यस वर्षको मनसुन ढिलागरी प्रवेश गर्ने भएकाले अझै गर्मी बढ्ने सम्भावना देखिएको हो ।पश्चिमी पहाडी क्षेत्रमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव थोरै हुने भएकाले बादल लागेर राहत हुन सक्ने जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।

 

‘यस वर्ष समयमै मनसुन भित्रिने सम्भावना छैन । अहिलेसम्म भारतमा मनसुन सुरु भएको छैन । भारतमा नआउँदा नेपालमा मनसुन आउने कुरै भएन,’ मानन्धरले भनिन्, ‘पानी पर्ने बादल नलाग्दासम्म स्वतः गर्मी बढिहाल्छ । त्यसो हुँदा हाल भइरहेको तापक्रम अझै बढ्दै जान्छ ।’आगामी केही दिन तापक्रम अझ बढ्दै जाने भएकाले सतर्क रहन मानन्धरले सुझाव दिइन् । गर्मी बढेसँगै सर्प, बिच्छी लगायत विषालु जीवको खतरा पनि स्वाभाविक रुपमा बढ्ने देखिन्छ ।

 

तराईमा जनजीवन प्रभावित

पश्चिमी वायु र प्रि–मनसुनको प्रभाव कम हुँदै जान थालेपछि तराईमा गर्मी बढ्न थालेको छ । गर्मीले विद्यालयको पठनपाठन प्रभावित हुनुका साथै घर बाहिर काम गर्ने श्रमिकहरुलाई सकस परेको छ । अहिले तराईका भैरहवा, नेपालगञ्ज, सिमरा, जनकपुर, विराटनगर, धनगढी लगायत क्षेत्रमा गर्मी अत्यधिक बढेको छ ।

महाशाखाले बिहीबार बिहान पौने ९ बजे जनाएअनुसार आज सिमरामा अधिकतम तापक्रम ४१ दशमलव २ डिग्री, न्यूनतम तापक्रम २२ दशमलव ५ डिग्री हुने अनुमान गरिएको छ । यस्तै भैरहवाको अधिकतम तापक्रम ४० दशमलव ९ डिग्री र न्यूनतम तापक्रम २५ दशमलव २ डिग्री, नेपालगञ्जमा अधिकतम तापक्रम ३९ दशमलव ५ डिग्री र न्यूनतम तापक्रम २६ डिग्री, धनगढीमा अधिकतम तापक्रम ३८ दशमलव २ डिग्री र न्यूनतम तापक्रम २३ दशमलव ८ डिग्री, विराटनगरको अधिकतम तापक्रम ३८ दशमलव ८ डिग्री र न्यूनतम तापक्रम २८ डिग्री रहने जनाइएको छ ।

यस वर्षको मनसुन असार पहिलो साता भित्रिने

नेपालमा हरेक वर्ष मनसुन जुन १३ भित्रिने गर्छ । यसअनुसार जेठ ३० गते मनसुन भित्रिनु पर्ने हो । तर यो वर्ष नेपालमा मनसुन प्रवेश गर्न असार पहिलो सातासम्म लाग्न सक्ने मौसमविद् मानन्धरले बताइन् ।‘हरेक वर्ष मनसुन सुरु हुने जुन १३ मा हो । यो वर्ष भारतमा समेत मनसुन सुरु भएको छैन ।

मनसुनको मोस्चर एकदमै स्लो छ,’ उनले भनिन्, ‘नेपालमा मनसुन ढिला आउने देखिएको छ । त्यो हुँदा असार पहिलो सातासम्म मनसुन प्रवेश गर्न सक्छ ।’यस वर्षको मनसुनमा कम वर्षा हुने बताइएको छ । जसले गर्दा किसान प्रभावित हुन सक्ने आकलन गरिएको छ ।