दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजनाका लागि सहकार्य गर्न चन्द्र ढकालको आग्रह

सफल खबर संवाददाता

विहीबार, ११ जेठ २०८०, १६ : २७
दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजनाका लागि सहकार्य गर्न चन्द्र ढकालको आग्रह

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजनाका लागि सहकार्य गर्न आग्रह गरेका छन् ।नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक हाना सिंगरसँग बिहीवार भएको भेटवार्ताका क्रममा उनले निजी क्षेत्र र विकास साझेदारहरू बीच सहकार्यका लागि आग्रह गरेका हुन् ।

भेटका क्रममा उनले महासंघले अघि सारेका आर्थिक संकटको समाधानको लागि रणनीति तय गर्ने, लगानीको वातावरण बनाउने, दक्ष जनशक्ति उत्पादन तथा  रोजगारी सृजना गर्ने प्रमुख प्राथमिकताहरुमा सहकार्यका लागि आग्रह गरेका हुन् ।भेटवार्तामा दुई संस्थाबीच दिगो विकासका लक्ष्य कार्यान्वयन र अतिकम विकसित मुलुकबाट नेपालको स्तरोन्नतिबाट पर्न सक्ने प्रभाव न्यूनीकरणका लागि सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।

 

साना तथा मझौला उद्योग व्यवसायको क्षमता विकास, दक्ष जनशक्ति उत्पादन, निजी क्षेत्र र तीनै तहका सरकारसँगको सहकार्य लगायतका विषयमा सहकार्य गर्ने बारे पनि छलफल भएको थियो ।महासंघमा पुगेकी संयोजक सिंगरलाई स्वागत गर्दै अध्यक्ष ढकालले मुलुकभर बलियो संजाल हुनुका साथै तल्लो तहसम्म पुग्न सक्ने संरचना महासंघको भएकाले दिगो विकास लक्ष्य पूरा गर्न महासंघ महत्वपूर्ण साझेदार हुनसक्ने बताए ।

आवासीय संयोजक सिंगरले महासंघका अध्यक्षले राखेको विषयलाई आफूले महत्वका साथ लिएको बताएकी थिइन् । साथै उनले दिगो विकास लक्ष्य र स्तरोन्नति विशेष चासोको विषय रहेको बताइन् ।लक्ष्य हासिल गर्न स्तरोन्नतिबाट नकारात्मक प्रभाव न्यूनीकरणका लागि महासंघको भूमिका प्रभावकारी हुने उनको धारणा छ । स्तरोन्नतिलाई सहज बनाउन रणनीति तयार पार्ने क्रममा सरकार, निजी क्षेत्र र संयुक्त राष्ट संघले सहकार्य गर्न सक्ने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस