रोनाल्डोले गरे करछलीको स्वीकार, २ वर्ष जेल र साढे २ अर्ब जरिवाना हुने !

सफल खबर संवाददाता

शुक्रबार, ११ साउन २०७५, १२ : ३५
रोनाल्डोले गरे करछलीको स्वीकार, २ वर्ष जेल र साढे २ अर्ब जरिवाना हुने !

काठमाडौं । करछलीको मुद्दामा फूटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले दुई वर्षको कारागार सजाय र दुई अर्ब ४४ करोड रुपैयाँको जरिवाना सजाय स्वीकार गर्ने भएका छन् ।

उनले स्पेनका अधिकारीहरूसँग सम्झौता गरेर यो सजाय स्वीकारेका हुन् । स्पेनी क्लब रियल मड्रिडका पूर्वखेलाडी रोनाल्डोले सन् २०११ देखि २०१४ का बीचमा करछलीका चार अभियोगमा दोष स्वीकार गरेका हुन् । यसक्रममा उनले लगभग दुई अर्ब रुपैयाँबराबरको करछली गरेको भेटिएको हो ।

उनले दोष स्वीकार गरेपछि उक्त रकमलाई ५७ लाख युरोमा घटाइएको थियो तर जरिवाना, ब्याज र अन्य खर्च जोड्दाखेरी रकम एक करोड ९० लाख युरो पुग्छ ।

रोनाल्डो र उनको व्यवस्थापन कम्पनी गेस्टिफुटले करछलीको अभियोग शुरूमा अस्वीकार गरेका थिए । उनलाई यसबारेमा सोध्दा गोलमटोल उत्तर दिने गरेका थिए ।

पहिलोपटक कसूर गरेकाले रोनाल्डोले कारागार सजाय भोग्नुपर्ने छैन ।

तर स्पेनी कानूनअन्तर्गत उनले सजायकै अवधिमा फेरि कसूर गरेमा उनलाई हिरासतमा लिइने सम्भावना रहन्छ । रोनाल्डोको सजाय निर्धारण हुन बाँकी नै छ ।

उनी अन्तिम फैसलाका लागि मड्रिडको पोजुएलो दे आलार्कोनसमक्ष उपस्थित भएपछि अन्तिम सजाय दिइनेछ ।

रोनाल्डोका प्रतिस्पर्धी लियोनेल मेस्सीलाई पनि यस्तै किसिमको सजाय दिइएको थियो ।

मेस्सी र उनका पिता जोर्गेलाई क्रमशः २१ तथा १५ महिनाको कारागार सजाय दिइएको थियो । तर यसै वर्षको जुलाई महिनामा उनीहरूले थप जरिवाना रकम बुझाउने भएपछि कारागार सजाय रद्द गरिएको थियो ।

स्पेनका कर अधिकृतहरूले हालैका वर्षमा अलेक्सिस सान्चेज र हाभिएर मास्केरान्होमाथि पनि कारवाही गरेका छन् ।

-गोल डट्कमबाट

प्रतिक्रिया दिनुहोस