काठमाडौं । सरकार र डा. गोविन्द केसी समर्थकबीच बिहीबार दिउँसो बालुवाटारमा भएको वार्तामा ९ बुँदे सहमतिको एउटा बुँदा डा. केसीले अस्वीकार गरेका छन् । नौ बुँदे सहमतिमा उपत्यकामा दस वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नपाउने मागबारे लचक हुने भनिए पनि डा. केसीले यस माग अस्वीकार गरेका हुन् ।
डा. केसीले दस वर्षसम्म उपत्यकामा मेडिकल कलेज खोल्न नपाउने भन्ने बुँदा जस्ताको तस्तै राख्नुपर्ने अडान लिएपछि वार्ता टोली पुनः वार्ताको लागि बालुवाटार फर्केको छ ।
डा. केसीले भने यो माग पूरा नहुने हो भने आफ्नो अनसन जारी रहने बताएको वार्ता टोलीका सदस्य डा. सुरेन्द्र भण्डारीले बताए । उनले भने, ‘डा. केसीको अडान १० वर्षसम्म सम्बन्धन दिनु हुँदैन भन्ने छ । सरकारले १० वर्ष हटाइनुपर्छ भन्ने छ । यही कुरामा वार्ता अडि्कएको छ ।’
यसबारे छलफलका लागि फेरि बालुवाटार बोलाइएको वार्ता टोली संयोजक डा. अभिषेकराज सिंहले जानकारी दिए ।
वार्तामा सम्बन्धनको एउटा विषयलाई इगो नबनाउन र माग सम्बोधन गर्न आग्रह गर्ने भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस