सरकारले समन्वय नगर्दा विदेशी पर्यटकले दुःख पाइरहेका छन् : चन्द्र ढकाल

सफल खबर संवाददाता

विहीबार, ०४ जेठ २०८०, १५ : १८
सरकारले समन्वय नगर्दा विदेशी पर्यटकले दुःख पाइरहेका छन् : चन्द्र ढकाल

काठमाडौं।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी पर्यटकका समस्या समाधानका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक रहेको बताएका छन्।बिहीवार काठमाडौंमा आयोजित नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस्‌को ५४औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका  हुन् ।अन्तर मन्त्रालय समन्वयको अभावमा स्थल मार्गबाट भ्रमणमा आउने विदेशी पर्यटकहरूले नेपाल–भारत सिमानाकामा दुःख पाएको गुनासो आएकाले अन्तर मन्त्रालय समन्वय गरी तत्काल समस्याको समाधान निकाल्न आग्रह उनले आग्रह गरे ।

‘हाम्रा विभिन्न सरकारी निकायहरू बीच समन्वय नहुँदा भारतीय सिमानाकाबाट स्थल मार्गबाट आउने पर्यटकहरूले विभिन्न किसिमका झमेलाहरू झेल्न परिरहेको गुनासो आउने गरेको छ । अर्थ, गृह र पर्यटन मन्त्रालयहरूबीच समन्वयको अभावमा समस्या परेको देखिन्छ ।यो ठूलो समस्या होइन । यसलाई एक दुई दिन वा हप्ता दिन भित्रै समाधान गर्न सकिन्छ,’ उनले भेन, म माननीय मन्त्रीज्यूलाई के आग्रह गर्न चाहन्छु भने यसको तत्काल समाधान गरियोस् । पर्यटकले दुःख पाउँदा नराम्रो सन्देश जाने र नेपाल प्रति नकारात्मक धारणा बन्न सक्छ ।’ प्रदेशमा ठूला र नमूना पर्यटकीय गन्तव्यहरू निर्माणमा निजी क्षेत्रलाई सहजीकरण गर्न नेपाल सरकार र अन्य निकायलाई उनले आग्रह गरेका छन् ।काठमाडौंको चन्द्रागिरिमा निर्माण गरिएको पर्यटकीय पूर्वाधारको उदाहरण प्रस्तुत गर्दै उनले यस्तै किसिमका पूर्वाधारहरू सात वटै प्रदेशमा निर्माण गर्न सके अहिलेको पर्यटक बसाइँलाई दोब्बर गर्न सकिने बताए ।

 

‘हामीले जहिले पनि समस्या मात्र राख्ने तर समाधानको उपायमा छलफल नै नगर्ने भन्ने कुरा यहाँ उठेको छ । म समस्यासँगै समाधानको उपाय पनि राख्न चाहन्छु । हामीले काठमाडौंको चन्द्रागिरिमा निर्माण गरेको रिसोर्ट र केवलकारसहितको स्थान अहिले स्वदेशी र विदेशी दुवै पर्यटकको रोजाइको नयाँ गन्तव्य बनेको छ । हामीले यस्ता गन्तव्यहरू हरेक प्रदेशमा कम्तिमा एउटा मात्र पनि बनाउन सकेमा पर्यटकको बसाइँ लामो बनाएर र खर्च बढाउन सकिन्छ,’ उनले भने ।

 

आफूले पनि सात वटै प्रदेशमा पर्यटन पूर्वाधार बनाउन पर्छ भनेर अभियान चलाउने उनको भनाइ छ । नेपाल–भारत सिमानाका नजिक रहेका नेपालका पहाडी गन्तव्यहरू भारतीय पर्यटकको रोजाइका नयाँ गन्तव्य बन्दै गएको बताउँदै सरकारले ती स्थानमा पर्यटन पूर्वाधार निर्माणमा सहजीकरण गर्नुपर्ने धारणा राखे ।कोभिड महामारीपछि थला परेको पर्यटन व्यवसाय पुनः लयमा आउन लागेको बताउँदै उनले भैरहवा र पोखरामा निर्माण सम्पन्न भइसकेका अन्तर्राष्ट्रिय विमानस्थलहरूको सञ्चालनका लागि आवश्यक पहल गर्न सरकारलाई उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस