ईष्ट लण्डन क्रिकेट क्लबमाथि नेपालको २ सय २३ रनको शानदार जित

सफल खबर संवाददाता

विहीबार, १० साउन २०७५, १५ : ४१
ईष्ट लण्डन क्रिकेट क्लबमाथि नेपालको २ सय २३ रनको शानदार जित

फाइल फोटो

इंग्ल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले तेस्रो अभ्यासमा ईष्ट लण्डन क्रिकेट क्लबमाथि २ सय २३ रनको शानदार जित हासिल गरेको छ ।
ईष्ट लण्डनको घरेलु मैदानमा भएको खेलमा नेपालले पुरा ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ३८ रन बनाएको थियो । ३ सय ३९ रनको लक्ष्य पछ्याएको ईष्ट लण्डन ३८ दशमलभ ५ ओभरमा १ सय १५ रनमा समेटियो । उसलाई सस्तैमा समेट्न शक्ति गौचनले ४ तथा करण केसी र ललित रााजवंशीले २–२ विकेट लिए । नेपालको कसिलो वलिङ सामु बेलायती ३ जना व्याट्सम्यान डक आउट भएका थिए भने थप ५ जनाले दोहोरो अंक छुन सकेनन् । 

यसअघि अनिलकुमार साहले १ सय ३१ रनको उल्लेख्य पारी खेलेपछि नेपाालले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३ सय ३८ रनको उच्च योगफल तयार पारेको थियो । ६२ वल डट खेलेका उनले १९ चौका र ३ छक्काको मद्दतमा सो रन बनाएका हुन् । शरद भेषावकरले ९८ रनको योगदान गरे । ५८ रन जोड्दा ३ विकेट गुमाएको स्थिति सम्हाल्दै साह र भेषावकरले चौथो विकेटका लागि २ सय २ सय १२ रनको साझेदारी गरेका थिए । 

पहिलो अभ्यासमा स्थानीय हेम्प्सायर क्लबलाई पराजित गरेको नेपाल दाोस्रो अभ्यास खेलमा भने सेन्ट क्रससंग हार व्यहोर्न बाध्य भएको थियो । नेदरल्याण्डस् र मेरिलिबोन क्रिकेट क्लबसंगको त्रिकोणात्मक सिरिज तथा डच टोलीविरुद्धको डेब्यु अन्तराष्ट्रिय वान डे सिरिजको तयारीका लागि नेपाली क्रिकेट टोली इंग्ल्याण्ड पुगेको हो । नेपाली टोलीले अन्तिम अभ्यासमा भोलि ईष्ट लण्डन सार्कसंग ट्वान्टी, ट्वान्टी  म्याच खेल्नेछ । त्रिकोणात्मक सिरिज भने शनिबार लर्डस्मा हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस