शरणार्थी प्रकरणमा दोषीलाई बचाए जनस्तरबाट व्यापक प्रतिरोध हुन्छ: गोविन्द केसी

सफल खबर संवाददाता

मंगलबार, ०२ जेठ २०८०, ०९ : ०४
शरणार्थी प्रकरणमा दोषीलाई बचाए जनस्तरबाट व्यापक प्रतिरोध हुन्छ: गोविन्द केसी

काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूको अनुसन्धान निष्पक्ष हुनुपर्ने बताएका छन्।

डा. केसीले एक प्रेस विज्ञप्ति जारी गर्दै यस प्रकरणका दोषीलाई बचाए जनस्तरबाट व्यापक प्रतिरोध हुने समेत बताएका हुन्।

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी व्यक्तिहरूलाई बचाउने सरकारको प्रयासबारे हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। उक्त प्रकरणमा प्रत्यक्ष संलग्न भएको भनेर प्रमाण भएका व्यक्तिहरूलाई समेत राजनीतिक पहुँच र पारिवारिक सम्बन्धका कारण छुँदै नछुने गरी प्रहरीले अनुसन्धान टुंग्याउने तयारी गरेको भन्ने जानकारी हामीले पाएका छौँ। त्यसो गरिएमा कुनै पनि जिम्मेवार नेपाली नागरिकलाई त्यो काम सह्य हुने छैन’, विज्ञप्तिमा भनिएकाे छ।

अभियन्ता केसीले नागरिक अभियानले गोपाल पराजुलीलाई जवाफदेही बनाउन ठूलो भूमिका खेलेकाे पनि बताएका छन्।

‘हामी लामो समयदेखि नेपालमा सुशासनको मुद्दासमेतलाई लिएर संघर्षमा छौँ। २०७३ सालमा लामो समय चलेको सत्याग्रहसहितको नागरिक संघर्षले लोकमान सिंह कार्कीको समानान्तर सत्ताको अन्त गर्नमा महत्त्वपूर्ण भूमिका खेलेको थियो।

त्यस्तै, न्यायपालिकामा भ्रष्टाचार संस्थागत गर्ने तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीलाई जवाफदेही बनाउन पनि नागरिक अभियानले ठूलाे भूमिका खेलेको थियो’, विज्ञप्तिमा उल्लेख गरिएकाे छ।

अभियन्ता केसीले अनुसन्धानमा मुछिएकाहरूलाई राजनीतिक रंग दि‍इ भ्रष्ट व्यक्तिहरूलाई काखी नच्याप्न चेतावनी पनि बताएका छन्।

‘भ्रष्टाचार र अपराध गरेपछि आफैं सम्वैधानिक निकायका शीर्ष पदमा पुगेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलगायतका पदाधिकारीहरुमाथि समेत कानुन अनुसार छानविन र कारवाही गर्न तथा सत्ता वा प्रतिपक्ष कतैका पनि भ्रष्ट व्यक्तिहरुलाई काखी नच्याप्न हामी सरकारलाई चेतावनी दिन चाहन्छौँ’, विज्ञप्तिमा भनिएकाे छ।

प्रतिक्रिया दिनुहोस