राष्ट्रिय जनमोर्चाको ‘मेची–महाकाली अभियान’को तयारी पूरा

सफल खबर संवाददाता

आइतबार, ३१ बैशाख २०८०, १३ : १२
राष्ट्रिय जनमोर्चाको ‘मेची–महाकाली अभियान’को तयारी पूरा

कैलाली । राष्ट्रिय जनमोर्चाले अमेरिकी साम्राज्यवादका विरुद्ध ‘मेची–महाकाली अभियान’को तयारी पूरा भएको जनाएको छ । जेठ १ (भोलि) देखि १५ गतेसम्म अभियान सञ्चालन हुने र दुई वटा टोली परिचालन हुने राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जनाएका छन् ।

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा महासचिव भट्टले जनाएअनुसार अमेरिकी साम्राज्यवादबाट मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामाथि देखिएको खतराका विरुद्ध जनजागरण सञ्चालन गर्ने उद्देश्यले अभियान सुरु गर्न लागिएको हो । दुई भागमा एक साथ सुरु हुने अभियानको उद्घाटन जेठ १ गते गरिने उनले जानकारी दिए । जसअनुसार कञ्चनपुरको महेन्द्रनगर र बागलुङ जिल्लामा एक साथ कार्यक्रम उद्घाटन गरिने उनको भनाइ छ ।

अभियानका क्रममा विभिन्न जिल्लाहरुमा सांस्कृतिक कार्यक्रम, कोणसभा, विरोधसभा, पत्रकार सम्मेलन तथा जनभेटघाटका विविध कार्यक्रम हुने जनाइएको छ । दुवै ठाउँबाट अघि बढ्ने अभियानलाई जेठ १५ गते एकै दिन बुटवल र काठमाडौंमा समापन गरिने महासचिव भट्टको भनाइ छ ।

उक्त अभियानका कार्यक्रमलाई दुवै चरणमा दुई–दुई टोलीले क्रमशः सम्पन्न गर्ने जनाइएको छ । महेन्द्रनगरबाट सुरु भएको प्रथम भागको अभियानको पहिलो टोलीको महेन्द्रनगरदेखि सुर्खेतसम्म राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले नेतृत्व गर्नेछन् । यस्तै, तुल्सीपुरदेखि बुटवलसम्मको दोस्रो टोलीको नेतृत्व राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष र प्रवक्ता दुर्गा पौडेलले गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस