नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३२९.५२ प्रतिशतले बढ्यो

सफल खबर संवाददाता

शनिबार, ३० बैशाख २०८०, १५ : ३८
नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३२९.५२ प्रतिशतले बढ्यो

काठमाडौं। नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफले चालु आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्ममा  उल्लेखनीय प्रगति गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफामा ३२९.५२ प्रतिशतको वृद्धि भएको छ ।यस त्रैमासकको अन्त्यसम्ममा कम्पनीको जगेडा तथा कोषमा करिब ४८ करोड रूपैयाँ रहेको छ । जुन अघिल्लो आवको सम्बन्धित त्रैमासकको अन्त्यसम्मको आधारमा ९.४० प्रतिशतले बढी हो । 

गत आर्थिक वर्षको सोही अवधिमा करिब १३१ अर्ब १६ करोड रूपैयाँ रहेको जीवन बीमा कोष १९.८३ प्रतिशतले बढी करिब १५७ अर्ब १६ करोड रूपैयाँ पुगेको छ । महाबिपत्ती कोषमा ८३ करोड रूपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिमा तुलनामा १५.४९ प्रतिशतले बढी हो । कम्पनीको लगानी २०.०७ प्रतिशतले बढेको छ । चैत मसान्तसम्म कम्पनीले १६२ अर्ब २८ करोड रूपैयाँ लगानी गरेको छ ।

प्रकाशित विवरणअनुसार कम्पनीको भुक्तानी हुन बाँकी दाबी उलेख्य रूपमा  घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा करिब १ अर्ब २८ करोड रूपैयाँ भुक्तानी हुन बाँकी दाबी बापत व्यवस्था गरिएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३४.१९ प्रतिशतले घटी ८४ करोड रूपैयाँ रहेको छ । 

यसैगरी चैत मसान्तसम्ममा २६ अर्ब ८३ करोड ७४ हजार रूपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने ११ अर्ब ८२ करोड रूपैयाँ खुद दाबी भुक्तानी गरेको छ । समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ११.४४ प्रतिशतले बढेको छ । यस त्रैमासमा आफ्नो दाबी भुक्तानी प्रक्रियालाई चुस्त–दुरुस्त, छिटो छरितो बनाइनु नै यस उपलब्धिको कारण रहेको कम्पनीले जनाएको छ । 

८ अर्ब २० करोड रूपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ७.२५ रूपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रति शेयर नेटवर्थ ११६.०१ रूपैयाँ, मूल्य अनुपात आम्दानी ९३.१९ गुणा, प्रति शेयर कुल सम्पत्तिको मूल्य २,०९० रूपैयाँ र औसत प्रतिफल दर १०.८४ प्रतिशत रहेको छ ।देशमा उत्पन्न भएको आर्थिक संकटले बीमा क्षेत्रमा परेको प्रभावको बीच पनि नेपाल लाइफले उत्कृष्ट नतिजा ल्याउन सफल हुनुलाई सबल पक्षको रुपमा लिएको कम्पनीले जनाएको छ ।

 

आगामी दिनमा कम्पनीलाई थप प्रभावकारी रुपमा संचालन गर्न विभिन्न संरचनात्मक, प्रक्रियागत सुधारहरू अवलम्बन गर्दै नेपालीहरूको घर दैलोमा गुणस्तरीय बीमा सेवा प्रवाह गर्न कम्पनी तत्पर रहेको र त्यसलाई मूर्तरूप प्रदान गर्न कम्पनी अहोरात्र लागिरहेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस