नेपाल–भारत सीमालाई चुस्त र स्पष्ट राख्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

सफल खबर संवाददाता

शनिबार, ३० बैशाख २०८०, १५ : ३३
नेपाल–भारत सीमालाई चुस्त र स्पष्ट राख्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–भारतबीच भौगोलिक सीमालाई चुस्त र स्पष्ट राख्नुपर्ने बताएकी छन् । शनिवार काठमाडौंमा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र डा. अच्युत गौतमद्वारा लिखित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग भएको उल्लेख गर्दै दुई मुलुकबीच भौगोलिक सीमालाई सम्पूर्ण रूपले चुस्त र स्पष्ट राख्नुपर्ने बताएकी हुन् । दुई देशबीचको सम्बन्धलाई थप सुदृढ र सुमधुर तुल्याउन भौगोलिक सीमासम्बन्धि सबै समस्याहरू हल गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो । 

‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग हुन् । संसद्‍ले देशको नक्सामा समाविष्ट गरेर संविधानको अंग बनाएपछि मुलुकको सार्वभौमिकता, राष्ट्रिय एकता र राष्ट्रियताका सन्दर्भमा ऐतिहासिक रुपमै नयाँ चेतनाको सञ्चार भएको छ,' उनले भनिन्, 'दुई देशबीचको भौगोलिक सिमानालाई सम्पूर्ण रूपले चुस्त र स्पष्ट राख्नु पर्दछ । दुईदेशबीच सदिऔंदेखि रहँदै आएको जनस्तर, सांस्कृतिक र कूटनीतिक सम्बन्धलाई थप सुदृढ र सुमधुर तुल्याउन महत्वपूर्ण योगदान पुर्‍याउने मैले विश्वास लिएको छु।’पूर्वराष्ट्रपति भण्डारीले एक राष्ट्रले अर्को राष्ट्रको संवेदनशीलतालाई ख्याल गरेर अघि बढ्दामात्रै आपसी सम्बन्धलाई अझ सदृढ र विश्वाशिलो बनाउँदै लैजान सकिने स्मरण गरिन् ।

प्रतिक्रिया दिनुहोस