‘नेपाल बिजनेस समिट २०८०’को १९ बुँदे घोषणापत्र सार्वजनिक

सफल खबर संवाददाता

शुक्रबार, २९ बैशाख २०८०, १२ : ०१
‘नेपाल बिजनेस समिट २०८०’को १९ बुँदे घोषणापत्र सार्वजनिक

काठमाडौँ । नेपालको अर्थतन्त्रका वर्तमान चुनौती र समृद्धिको भावी मार्गचित्र भन्ने मूल विषयमा वैशाख २४ गतेका दिन बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल, नेपाल बिजनेस इन्स्टिच्युट र नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा आयोजित ‘नेपाल बिजनेस समिट–२०८०’ १९ बुँदे घोषणापत्र सार्वजनिक गर्दै सम्पन्न भएको छ।

घोषणाहरूको नीतिगत रुपमा सम्बोधनका लागि तत्काल पहल गर्न नेपाल सरकार तथा मातहतका निकायहसमक्ष सम्मेलनमार्फत आह्वान गरिएको छ। आवश्यक सहजीकरण, समन्वय तथा सहकार्यसहित व्यवहारिक एवं प्रभावकारी कार्यान्वनयका लागि एकाकार भई रचनात्मक एवं सिर्जनात्मक भूमिका निर्वाह गर्न सरोकारवाला सम्पूर्ण पक्षहरुमा सम्मेलनमार्फत आग्रह गरिएको छ।

विश्व अर्थतन्त्र नै सुस्ताएको अर्थात् मन्दितर्फ उन्मूख भइरहेको वर्तमान अवस्थामा नेपाली अर्थव्यवस्था समेत कठिन स्थितिबाट गुज्रिरहेको सन्दर्भमा आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम र मौद्रिक नीतिको तर्जुमा हुँदै गरेको अवस्था छ ।

समग्र अर्थतन्त्र विषम परिस्थितिबाट गुज्रिदै गर्दाको प्रतिकुल अवस्थालाई अनुकुल बनाउने अत्यन्तै निर्णायक मोडमा राष्ट्र उभिरहेको बेला आयोजित उक्त शिखर सम्मेलनमा चिन्ता, चासो र सरोकारसहित सरकार, निजी क्षेत्र, वरिष्ठ अर्थशास्त्री, विषयविज्ञ, कुटनैतिक एवं दातृ निकाय र संचारजगत क्षेत्रका उच्च तहबाट भएको सघन उपस्थिति, आर्थिक क्षेत्रका जल्दाबल्दा विभिन्न विषयवस्तुमाथि भएका रचनात्मक बहस र सहभागीहरुबाट प्राप्त बहुमूल्य सुझावहरुले सम्मेलनको आवश्यकता र औचित्यलाई पुष्टि गरेको छ ।

नेपाल सरकार तथा मातहतका निकायहरुलाई मैत्रीपूर्ण नीतिगत छलाङ्गसहित स्पष्ट योजना तथा कार्यक्रम, प्रभावकारी कार्यान्वयनका सरलीकृत प्रशासनिक विधि एवं प्रक्रिया अवलम्बन गर्न, दृढ अठोट, इच्छाशक्ति र आत्मविश्वासहित सम्पूर्ण सरोकारवालासँग सहकार्य गर्दै अगाडि बढ्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस