टोपबहादुरको घरबाट दोस्रोपटक पनि रित्तै फर्कियो प्रहरी

सफल खबर संवाददाता

बुधबार, २७ बैशाख २०८०, ०९ : २४
टोपबहादुरको घरबाट दोस्रोपटक पनि रित्तै फर्कियो प्रहरी

काठमाडौं । ललितपुरको सातदोबाटोस्थित स्थित टोपबहादुर रायमाझीको घरमा मंगलबार पुगेको प्रहरी टोली रित्तै फर्किएको छ ।

नक्कली भुटानी शरर्णार्थी प्रकरणमा रायमाझी फरार रहेको अवस्थामा काठमाडौं प्रहरी परिसरको मुद्धा शाखाको टोली मंगलबार रायमाझीको घरमा पुगेको थियो । केही दिनअघि पनि प्रहरीको टोलीले रायमाझीको घरमा खानतलासी गरेको थियो ।

काठमाडौं प्रहरी परिसरका प्रमुख दानबहादुर कार्कीले अनुसन्धानका क्रममा प्रहरी टोली रायमाझिको घरमा पुगेको हुन सक्ने बताए । ‘यो अनुसन्धानको विषय भयो। कुनै कामले प्रहरी टोली पुग्यो होला’ एसएसपी कार्कीले भने ।

स्रोतका अनुसार प्रहरीले घरमा मुद्दासँग सम्बन्धित कुनै डकुमेन्ट फेला पार्न सकेन। रायमाझीका छोरा सन्दीप भने अहिले प्रहरी हिरासतमा रहेका छन् ।

अर्घाखाँचीमा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका रायमाझी पक्राउ पुर्जीको सुचना पाएपछि सोही दिन साँझ सम्पर्कविहिन भएका थिए । भोलिपल्ट प्रहरीलाई नै खबर गरेर रायमाझीले आफु दिउँसो सम्पर्कमा आउने बताएका थिए ।

भैरहवाबाट काठमाडौं आएको रायमाझीको निजी गाडीलाई काठमाडौं प्रहरी परिसरको टोलीले धादिङमा भेटेपनि त्यसमा उनी थिएनन् । चालक मात्र गाडीमा रहेको पाइएपछि प्रहरीले ‘चक्मा’ खाएको थियो ।

यतिबेला रायमाझीको खोजीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीको टोलीसमेत खटिएको छ। प्रहरी प्रधान कार्यालयले देशभरका ७७ वटै जिल्लामा सर्कुलर पनि जारी गरेको छ।