संवैधानिक परिषद्को बैठकपछि प्रचण्ड र ओलीबीच छुट्टै भेटवार्ता

सफल खबर संवाददाता

सोमबार, २५ बैशाख २०८०, २० : ०७
संवैधानिक परिषद्को बैठकपछि प्रचण्ड र ओलीबीच छुट्टै भेटवार्ता

काठमाडौं । संवैधानिक परिषद्को बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छुट्टै भेटवार्ता भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरण पेचिलो बन्दै गएपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छुट्टै भेटवार्ता भएको हो ।

उक्त प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ पुर्जी जारी भएलगत्तै फरार भएका छन् । त्यस्तै एमालेकै उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर बादलको समेत संलग्नबारे आशंका भइरहेका बेला प्रधानमन्त्री प्रचण्ड र ओलीबीच यसअघि नै दुई पटक वान-टु-वान भेटवार्ता भइसकेको छ ।

प्रचण्डले उक्त प्रकरणका दोषीलाई कारबाही गर्न आफू कसैको दबाबमा नपर्ने अभिव्यक्ति दिएपछि ओलीले प्रधानमन्त्री दाहाल भ्रष्टलाई जोगाउने र प्रतिपक्षीहरुलाई मुद्दामा फसाउने खेलमा रहेको टिप्पणीसमेत गरेका छन् ।

उनले आफ्नो पार्टीविरुद्ध षडयन्त्र भए सह्य नहुने चेतावनीसमेत दिएका छन् । प्रधानमन्त्री प्रचण्डले भने उक्त प्रकरणको अहिले ट्रेलरमात्रै आएको सिंगो फिल्म आउन बाँकी रहेको अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस