ट्रम्पले रिसाउँदै भने-'डिभीबाट अमेरिका आउनेहरु फोहोरको टोकरीमा फाल्न योग्य'

एजेन्सी

मंगलबार, ०४ पुस २०७४, १७ : २२
ट्रम्पले रिसाउँदै भने-'डिभीबाट अमेरिका आउनेहरु फोहोरको टोकरीमा फाल्न योग्य'

राष्ट्रपतिका लागि चुनावी अभियानदेखि नै डिभी चिठ्ठा कार्यक्रम बन्द गर्ने नारा बनाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिभी लोट्री कार्यक्रमबारे निकै कडा टिप्पणी गरेका छन् ।

डिभी चिठ्ठाबाट अमेरिका पुगेका नेपालीसहित तेस्रो विश्वका नागरिकमाथि निशाना साँध्दै उनले उनीहरुलाई उपयोग गर्न नमिल्ने अर्थात फोहोरको संज्ञा दिएका छन् ।

तिनीहरु उपयोगी हुन्छन् भनेर कसरी विश्वास गर्न सकिन्छ रु, शुक्रबार  एफबिआई एकेडेमीको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले भने, ती सबै फोहोरको टोकरीमा हाल्न मात्र काम लाग्छन् ।’

राष्ट्रपति ट्रम्पले डिभी लोट्रीबाट अमेरिका भित्रिने विदेशी नागरिक समग्र सुरक्षाका लागि समेत चुनौति भएको बताए ।

केही समयअघि न्यूयोर्कमा भएको आतंकारी आक्रमणमा समेत डिभी बाट अमेरिका पुगेका व्यक्तिको स‌ंलग्नता पाइएपछि ट्रम्प अझ रिसाएका हुन् ।

अमेरिकाले हरेक वर्ष ५० हजार आप्रवासीलाई चिठ्ठा कार्यक्रममार्फत भित्र्याउँदै आएको छ ।

नेपालबाट अहिलेसम्म करिब १६ हजार डिभी मार्फत अमेरिका पुगिसकेका छन् । गत वर्ष ३४ सय नेपाली डिभी चिठ्ठाबाट अमेरिका प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस