सरकारले ट्रेजरी बिलमार्फत ३० अर्ब आन्तरिक ऋण उठाउँदै

सफल खबर संवाददाता

सोमबार, २५ बैशाख २०८०, १४ : ४९
सरकारले ट्रेजरी बिलमार्फत ३० अर्ब आन्तरिक ऋण उठाउँदै

काठमाडौँ । सरकारले ट्रेजरी बिलमार्फत ३० अर्ब १८ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । यसका लागि राष्ट्र बैंकले सोमबार दिउँसो ३ बजेसम्म बोलकबोल गर्न आग्रह गरेको छ । करिब सवा ३० अर्ब रुपैयाँ आन्तरिक ऋणमध्ये १८ अर्ब १८ करोड परिपक्व अवधि पूरा भएको पुरानो ट्रेजरी बिलमार्फत र बाँकी १२ अर्ब ५० करोड रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गर्न लागिएको हो ।

ट्रेजरी बिलका लागि सोमबार बोलकबोल गर्न राष्ट्र बैंकले सूचना जारी गरेको छ । जसअनुसार मंगलबार ट्रेजरी बिल जारी (वितरण) गरिनेछ । यसअघि सरकारले पटक पटक ट्रेजरी बिलमार्फत आन्तरिक ऋण संकलन गरिरहेको छ । सोही क्रममा यस पटक करिब सवा ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो ।

पछिल्लो पटकको बोलकबोलमा ९.३३ प्रतिशत भारित औसत ब्याजदर तय भएको छ । बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी १०.०८ प्रतिशत र सबैभन्दा कम ८.१४ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए । सरकारले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (माघदेखि चैतसम्म)मा ८८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ । यो आर्थिक वर्षको दोस्रो त्रैमासमा ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको सरकारले तेस्रो त्रैमासमा थप ८८ अर्ब रुपैयाँ उठाएको थियो ।

सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेको छ । उक्त लक्ष्यलाई तीन चरणमा विभाजन गरिएको छ । सरकारले आर्थिक वर्षको पहिलो त्रैमासमा आन्तरिक ऋण उठाएको थिएन । दोस्रो त्रैमासदेखि मात्र आन्तरिक ऋण उठाउन लागेको हो । जसअनुसार चौथो त्रैमासमा सरकारले १ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस