प्रतिनिधि सभा बैठक : कसले के बाेले ?

सफल खबर संवाददाता

सोमबार, २५ बैशाख २०८०, १३ : ३१
प्रतिनिधि सभा बैठक : कसले के बाेले ?

काठमाडौं । प्रतिनिधि सभा सदस्य अच्युतप्रसाद मैनालीले प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहको स्वास्थ्य जाँचको माग गरेका छन। सोमवारको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै सांसद मैनालीले सांसद सिंहको स्वास्थ्य जाँचको माग गरेका हुन । सांसद सिंहले आकस्मिक समयमा बोल्न नपाएको भन्दै आफ्नो सर्ट र गन्जी खोलेर बिरोध जनाएका थिए । सोही कारण स्वास्थ्य जाँचको माग गरिएको हो । त्यस्तै उनले बारा जिल्लामा हात्तीले बालिनाली र घर नष्ट गरेको भन्दै सम्बन्धित निकायसँग हात्ती नियन्त्रण र व्यवस्थापन गर्न माग गरे।

प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले भ्रष्टाचारको छानबिन गर्न पूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा निष्पक्ष, पारदर्शी, स्वतन्त्र र सर्वाधिकार सम्पन्न आयोग गठन गर्न माग गरे ।

प्रतिनिधि सभा सदस्य आश्माकुमारी चौधरीले कृषकलाई बीउबिजन र मल सहजै पाउने व्यवस्था गर्न माग गरिन्। उनले भूमिहिन, सुकुम्वासीहरुको समस्या समाधान गर्न माग गरिन् ।

प्रतिनिधि सभा सदस्य असिम शाहले नक्कली भुटानी शरणार्थी प्रकरणमा जनताले बुझ्ने गरेर पारदर्शी ढंगले अनुसन्धान हुनुपर्ने बताए । उनले सो प्रकरणमा खुट्टा नकमाउन सरकारलाई आग्रह गरे । त्यस्तै कुनै प्रलोभनमा नपर्न पनि उनको आग्रह छ ।

प्रतिनिधि सभा सदस्य ईश्वरी घर्तीले तीनै तहका जनप्रतिनिधि, शिक्षक, कर्मचारी र सार्वजनिक पद धारण गरेका व्यक्तिहरुका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालय र सरकारी क्याम्पसमा भर्ना गर्ने नीति बनाउन माग गरे ।

प्रतिनिधि सभा सदस्य ऐनबहादुर शाही ठकुरीले हिमाली जिल्लाहरुमा यार्सागुम्बा टिप्न जानेहरुकोको मृत्यु र बेपत्ता हुनेगरेका भन्दै ति ठाउँहरुमा व्यापक सुरक्षाकर्मी, औषधि लगायत आवश्यक व्यवस्थापन गर्न माग गरे ।

प्रतिनिधि सभा सदस्य किरणकुमार शाहले मन्त्रीहरुले आफ्नो क्षेत्रमा मात्रै बजेट हाल्ने गरेको भन्दै असन्तुष्टि जनाउनु भयो । सबै क्षेत्रहरुमा समान रुपमा बजेट विनियोजन गर्नुपर्ने उनले बताए ।

प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीउपर कारबाही गर्न माग गरे ।उनले यसअघि पनि विभिन्न विषयले सदन तातिने र नयाँ काण्ड आएपछि पुरानो काण्ड सेलाउने गरेको भन्दै यस घटनामा त्यस्तो नहोस् भनेर सचेत गराए । शुन्य समयमा बोल्ने अन्य सांसदहरुले पनि समसामयिक विषयमा र आफ्नो क्षेत्रको विकास निर्माणको कामहरुको सम्बन्धमा आफ्नो धारणा राखेका थिए । 

प्रतिक्रिया दिनुहोस