दुर्गमको गोठमै रमाएका नन्दप्रसाद

रासस

शनिबार, २३ बैशाख २०८०, ११ : ३८
दुर्गमको गोठमै रमाएका नन्दप्रसाद

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ६, ७ र ८ नम्बर वडाको सिमानामा पर्ने तिनपोखरी चारैतिर घना गुराँसको जङ्गलले घेरिएको छ । समुद्री सतहदेखि तीन हजार मिटर उचाइमा अवस्थित बस्तीदेखि टाढाको जङ्गलको बीचमा खाली जग्गा (खर्क) छ । यही खर्कमा गोठालो बसेर अन्नपूर्ण–८ राम्चेका नन्दप्रसाद पुनले आधा जीवन बिताए। 

“यहाँ भैँसी पालेर बस्न थालेको ३६ वर्ष भयो”, ७६ वर्षीय पुनले भने, “बुढ्यौलीले छोएर शरीरमा पहिलेको जस्तो तागत र जाँगर नभए पनि यो ठाउँ छोडेर जान मन लागेको छैन”, बाबुबाजेले गर्दै आएको भौँसीपालनलाई निरन्तरता दिन जङ्गल पस्नुअघि पुनले काम र दामको खोजीमा भारतको उत्तरप्रदेशमा १६ महिना बिताए । 

पुनले पञ्चायतकालमा करिब पाँच वर्ष राम्चे गाउँमा जनप्रतिनिधिको रुपमा समेत काम गरे । तीन छोरी र दुई छोराका अभिभावक पुनले घरखर्च चलाउने, छोराछोरी र नाति नातिनालाई पढाउने खर्च भैँसीपालन र तरकारी खेतीबाट जुटाएका छन् । “राँगो, भैँसी, घ्यू, साग, बन्दा, काउली र आलु बेचेर परिवार धानेको छु”, पुनले भने, “विसं २०४५ तिर गलेश्वरमा कृषि मेला प्रर्दशनीमा उत्कृष्ट भएर पुरस्कृत भएपछि भैँसीपालन र तरकारी खेतीलाई निरन्तरता दिन प्रोत्साहन मिल्यो ।” 

वर्षमा चार÷पाँच वटा राँगा भैँसी र मासिकरुपमा २० देखि ३० लिटरसम्म घ्यू बेच्ने गर्छन् । घोडेपानी, हिस्तान, राम्चे र पोखरामा घ्यू बिक्री हुन्छ । दूध, दही गोठमै बिक्री हुन्छ । दुई वर्ष पालेको राँगोलाई रु ५० हजार, दुहुना भैँसीलाई रु एक लाखसम्म मूल्य पर्छ । तीन वर्षअघि श्रीमती भक्तिमायाको निधन भएपछि नन्दप्रसादलाई छोरा रेमुले भैँसीपालनमा साथ दिए ।

अविवाहित एक छोरीले घर धानेर बसेकी छिन्। बिवाह भइसकेका दुई वटा छोरी पोखरामा बस्छन् । एक जना छोरा बेनीमा छन् । दुई जना छोरा छोरीलाई दश जोड दुई तह पढाउने खर्च भैँसीपालनबाटै खर्च जुटेको छ । 

“दिदीहरुको पोखरामा आफ्नै घर छ । बुबालाई उतै बस्ने भनेर लगेर जानुभएको थियो”, रेमुले भने, “बजारको कोलाहाल, धुलो मन परेन, गोठमै ताजा तरकारी, दूध, घ्यू खाएर बस्छु भनेर आउनुभयो । बृद्ध बुबालाई एक्लै छोड्न भएन भनेर म पनि गोठमा आएको छु । दिदीले घरबाट खर्च पानी ल्याइदिनुहुन्छ ।”

नन्दप्रसादको जङ्गलको बसाई फरक किसिमको छ । उनले भैँसी बाध्ने गोठ र आफू बस्ने घर काठैकाठको बनाएका छन् । छानो र चारैतिर काठले बारेको घरको भुइँमा बस्ने ठाउँमा पनि काठनै छन् । काठको घर न्यानो हुने र धेरै खप्ने पुनको अनुभव छ । 

तिनपोखरी पुनहिल र मोहरेडाँडा जोड्ने गुराँस पदमार्गमा पर्छ । हालै सञ्चालन भएको यो पदमार्गमा यात्रा गर्ने पर्यटकका लागि पनि नन्दप्रसादको भैँसी गोठ र काठका घर आकर्षक बनेको छ । पर्यटक, पर्यटक मजदुरहरुले दूध, दही किनेर खाने र नन्दप्रसादसँग भलाकुसारी गर्छन् । 

एक जना फ्रान्सका पर्यटकले नन्दप्रसादका लागि काठकै व्यवस्थित किसिमको दुई कोठे घर पनि बनाइदिएका छन् । भैँसी चरनका लागि जङ्गलमा छाडिदिने गर्छन् । गोठमा बाधिएका पाडापाडीका लागि जङ्गलमा गएर घाँस ल्याउने, भकारो सफा गर्ने, भैँसी दुहुने, मोही पार्ने, घ्यू बनाएर बेच्न लैजाने नन्दप्रसादका दैनिकी हुन् । 

भैँसी गोठ नजिकै करिब पाँच रोपनी जमिनमा माघ–फागुनमा आलु र आलु खनेपछि साग, बन्दा र काउली खेती गर्नुहुन्छ । चिसो हावापानीमा उत्पादन भएको तिनपोखरीको आलु र साग मोहरेडाँडा, फूलबारी र घोडेपानीको होटलमा खपत हुन्छ । चम्किलो र हसिलो अनुसार, पुष्ट शरीर भएका नन्दप्रसादले जङ्गल जाँदा होस् या गोठमा बस्दा रेडियोको साथ छुटाउदैनन् । गीत सङ्गीत सुन्दै काम गर्ने उनी अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय घटनाक्रमको बारेमा उत्तिकै जानकारी राख्न रुचाउछन् । 

प्रतिक्रिया दिनुहोस