नेविसंघ र तरुण दललाई आजै पूर्णता दिने कांग्रेसको तयारी

सफल खबर संवाददाता

शुक्रबार, २२ बैशाख २०८०, १२ : ५७
नेविसंघ र तरुण दललाई आजै पूर्णता दिने कांग्रेसको तयारी

काठमाडौँ । नेपाली कांग्रेसले नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दललाई आज पूर्णता दिने तयारी गरेको छ । आज बेलुकासम्म नेविसंघ र तरुण दलको तदर्थ समितिलाई पूर्णता दिने कांग्रेस पदाधिकारीहरुबीच आन्तरिक तयारी भइरहेको छ । 

नेविसंघ र तरुण दललाई पूर्णता दिन बिहीबार सभापति शेरबहादुर देउवाको निवासमा कांग्रेस पदाधिकारीबीच छलफल भएको थियो । सहमहामन्त्री महेन्द्र यादवले आज साँझसम्म नेविसंघ र तरुण दलसहित भ्रातृ संस्थाहरुलाई पूर्णता दिइने बताए । उनका अनुसार बिहीबारको बैठकले नाम सङ्कलन भइसकेका भ्रातृ संस्थाहरूको पूर्णता दिँदै जाने निर्णय गरेको छ ।

उनले भने, ‘आज अपराह्न चार बजे पदाधिकारी बैठक बसेर भ्रातृ संस्थालाई पूर्णता दिने काम हुन्छ । मुख्यतः नेविसंघ र तरुण दलमा नाम सङ्कलनको भएको छ । यसलाई पूर्णता दिएर अगाडि जान्छौँ ।’

गत फागुन ३ गते केन्द्रीय कार्यसम्पादन समितिले १० वटा भ्रातृ संस्थाको कार्यसमिति भङ्ग गरेको थियो ।बैठकले फागुन मसान्तभित्र केन्द्रीय तदर्थ समिति गठन गर्ने अधिकार सभापति देउवालाई दिएको थियो ।

सभापति देउवाद्वारा गत वर्ष फागुन ९ मा नेविसंघ, तरुण दल, असार १० मा नेपाल किसान सङ्घ, नेपाल आदिवासी जनजाति सङ्घ र साउन २६ मा नेपाल महिला सङ्घमा सभापति मनोनीत गरेका थिए । बाँकी भ्रातृ संस्थामा नेतृत्वसमेत आएको छैन ।

तदर्थ समितिलाई तीन तहको निर्वाचनको अन्तिम परिणाम आएको तीन महिनाभित्र अधिवेशन गर्नुपर्ने म्यान्डेट दिइएको थियो । गत मङ्सिरमा आम निर्वाचन सम्पन्न भएकाले तदर्थ समितिले फागुनसम्म महाधिवेशन गरिसक्नुपर्ने थियो । तर, नेतृत्व पाएका भ्रातृ संस्थाले पूर्णतासम्म नपाएपछि महाधिवेशन अन्योल बन्यो ।

यता नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल लोकतान्त्रिक अपाङ्ग सङ्घ, नेपाल तामाङ सङ्घ, नेपाल ठाकुर समाज, नेपाल थारु सङ्घ र नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ र नेपाल भूतपूर्व सैनिक सङ्घमा एक वर्षदेखि नेतृत्वसमेत छैन ।

सभापति देउवाले यी भ्रातृ संस्थाको नेतृत्व पनि आजै  ल्याउने सम्भावना रहेको सहमहामन्त्री यादवले बताए । यादवका अनुसार नाम सङ्कलन भएपछि  क्रमिक रूपमा बाँकी भ्रातृ समिति गठन र विस्तार हुने छ ।

यस्तै  कांग्रेसका सभापति देउवाले पार्टीका केन्द्रीय विभाग गठनका लागि गृहकार्य थालेको उनले बताए । कांग्रेसमा विधानतः २८ वटा विभागको व्यवस्था छ । ती विभागमा ५१ जना सदस्य राख्न सकिने प्रावधान छ ।

संयोजक, उपसंयोजक, सचिवसमेत गर्दा एउटै विभागमा ५४ जना नेता तथा कार्यकर्ताले जिम्मेवारी पाउने अवस्था छ । सबै विभागलाई पूर्णता दिँदा १५ सय १२ जना नेता कार्यकर्ताले जिम्मेवारी पाउने देखिन्छ । विभागको कार्यक्षेत्र हेरी विशेषज्ञ संलग्न गराई विभिन्न एकाइ, उपसमिति वा कार्यदल गठन गर्न सकिने विधानमा व्यवस्था छ ।