मेसीलाई पिएसजीले गर्यो दुई साता निलम्बन

सफल खबर संवाददाता

बुधबार, २० बैशाख २०८०, ०७ : ४६
मेसीलाई पिएसजीले गर्यो दुई साता निलम्बन

एजेन्सी । पेरिस सेन्ट जर्मेइन(पिएसजी)का स्ट्राइकर तथा विश्व विजेता कप्तान लियोनेल मेसीलाई फ्रेन्च क्लब पिएसजीले दुई साता निलम्बन गरेको छ। उनले क्लबलाई जानकारी नगराई यसै साता साउदी भ्रमण गरेको भन्दै दुई साता प्रतिबन्ध लगाउने निर्णय क्लबले गरेको हो।

आइतबार पिएसजी घरेलु मैदानमा लोरेन्टेसँग ३-१ ले पराजित हुँदा मेसीले पुरै ९० मिनेट खेलेका थिए। त्यसपछि उनी साउदी प्रस्थान गरेका थिए। मेसीले आफ्नो निलम्बनको अवधिमा पिएसजीमा प्रशिक्षण तथा खेल खेल्न पाउने छैनन्।

यद्यपि, मेसीले कमर्सियल प्रायोजनका लागि क्लबसँग अनुमति मागेको भएपनि क्लबले अस्वीकार गरेको थियो। मेसी साउदी अरेबियाको पर्यटन राजदुतका रुपमा रहेका छन्। उनलाई क्लबले जरिवानासमेत गर्न सक्ने जनाइएको छ।

विश्व विजेता मेसीले पिएसजीसँग २ वर्षको सम्झौता गरेका थिए। उनको सम्झौता समरमा सकिँदै छ। योबीचमा पिएसजीसँग उनको सम्झौता लम्बिने सम्भावना कमजोर छ।

पिएसजीमा मेसीले ३१ गोल गर्दा ३४ गोलका लागि असिस्ट गरेका छन्। उनले सबैखाले प्रतियोगितामा गरी ७१ खेल खेलेका छन। उनको उत्कृष्ट प्रदर्शनमा गत सिजन पिएसजीले लिग वानको उपाधि जितेको थियो। उनले अब आइतबार हुने ट्रोयस र १४ तारिखमा हुने आजसियोसँगको खेल गुमाउने छन्।

पिएसजी लिगमा ५ खेल बाँकी रहँदा अहिले दोस्रो स्थानको मार्सेली भन्दा ५ अङ्कले अग्रता बनाउँदै शीर्ष स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस