असोज १ मा नेपाल-चीन संयुक्त सैन्य अभ्यास

पत्रपत्रिकाबाट

सोमबार, ०७ साउन २०७५, ०८ : ०१
असोज १ मा नेपाल-चीन संयुक्त सैन्य अभ्यास

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यास ‘सगरमाथा फ्रेन्डसिप’को दोस्रो संस्करण असोज १ देखि १२ गतेसम्म चीनको छेन्दूमा हुने भएको छ । गत वर्ष नेपालमा भएको संयुक्त सैन्य अभ्यासको दोस्रो संस्करण चीनको सिचुवान प्रान्तको छेन्दूमा हुने भएको हो ।

संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाका प्रमुख सेनानीको नेतृत्वमा १६ जना सैनिक अधिकारीको सहभागिता हुने सैनिक स्रोतले बताएको छ। गत वर्ष वैशाखमा भएको संयुक्त सैन्य अभ्यास यसपटक सरकार गठन र त्यसपछि लगत्तै भएको प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका कारण केही ढिलाइ भएको थियो ।

प्रधानमन्त्री ओलीको भ्रमणपछि संयुक्त सैन्य अभ्यास गर्नेमा दुवै मुलुकका रक्षा मन्त्रालय सहमत भएका थिए । प्रधानमन्त्री ओली र त्यसलगत्तै प्रधानसेनापति राजेन्द्र क्षत्रीको चीन भ्रमणले संयुक्त सैन्य अभ्यासको टुंगो लगाएको हो ।

प्रधानसेनापति क्षत्री चीन भ्रमणमा गएका बेला त्यहाँका रक्षामन्त्री र सेना प्रमुखसँग समेत संयुक्त सैन्य अभ्यासलगायत द्विपक्षीय हितका विषयमा छलफल गरेका थिए । संयुक्त सैन्य अभ्यास प्रतिआतंकवाद युद्धकला, विपद व्यवस्थापनलगायतमा केन्द्रित हुने छ।,यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रतिक्रिया दिनुहोस