अमेरिकी साम्राज्यवाद विरुद्ध जनमोर्चाले मेची–महाकाली अभियान चलाउने

सफल खबर संवाददाता

सोमबार, १८ बैशाख २०८०, १३ : २२
अमेरिकी साम्राज्यवाद विरुद्ध जनमोर्चाले मेची–महाकाली अभियान चलाउने

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले नेपालमा अमेरिकी साम्राज्यवादको बढ्दो खतराको गम्भीरतामाथि ध्यान दिँदै अमेरिकी साम्राज्यवादका विरुद्ध मेची महाकाली अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टी प्रवक्ता तथा उपाध्यक्ष दुर्गा पौडेलका अनुसार ती अभियानहरू दुई भागमा विभाजित गरी सम्पन्न गरिने छन् । दुवै भागका अभियानहरू जेठ १ गते महेन्द्रनगर र बाग्लुङमा उद्घाटन गरिने छन् भने दुवै अभियानहरूको जेठ १५ गते एकैदिन बुटवल र काठमाडौँमा समापन गरिने छन् ।

उक्त अभियानका कार्यक्रमलाई दुवै चरणमा दुई–दुई टोलीले क्रमशः सम्पन्न गर्ने पौडेलको भनाई छ । महेन्द्रनगरबाट सुरु भएको प्रथम भागको अभियानको पहिलो टोलीको महेन्द्रनगरदेखि सुर्खेतसम्म राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले नेतृत्व गर्नेछन् भने तुल्सीपुरदेखि बुटवलसम्मको दोस्रो टोलीको नेतृत्व पौडेल आफैले गर्ने छिन् ।

बाग्लुङबाट सुरु भएको दोस्रो भागको पहिलो टोलीको नेतृत्व राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले र बारादेखि सुरु भएको दोस्रो टोलीको नेतृत्व राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले गर्ने पार्टीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस