वालिङमा अनलाइनबाटै घर नक्सा पास

सफल खबर संवाददाता

शनिबार, १६ बैशाख २०८०, ०८ : ५१
वालिङमा अनलाइनबाटै घर नक्सा पास

वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाभित्रका नागरिकले घरको नक्सा पास गर्न नगरपालिका धाउनु नपर्ने भएको छ ।

सूचीकृत इन्जिनियरिङ कन्सल्टेन्सीमार्फत अब अनलाइनबाटै घरको नक्सा पासको निवेदन दिन सकिने भएको छ । 

फाइल बोकेर कार्यालयमा जानुपर्ने झण्झट सकिएको छ । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले नगरभित्रका इन्जिनियरिङ कन्सल्टेन्सीलाई अनलाइन घरनक्सा पास व्यवस्थापन प्रणालीका बारेमा प्रशिक्षण दिई सूचीकृत गरेको नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख इन्जिनियर प्रकाश अर्यालले बताए । 

नगरपालिकामा हाल सात कन्सल्टेन्सी सूचीकृत गराइएको र सोहीमार्फत अनलाइन घरको नक्सा पास ब्यवस्थापन प्रणाली (ईवीपीएस)अनुसार काम अगाडि बढिरहेको उनले बताए ।

“नगरपालिकाको ईवीपीएसमा सूचीकृत भएका कन्सल्टेन्सीमार्फत लाभग्राहीले अनलाइन निवेदन दिनुहुन्छ”, अर्यालले भने, “सूचिकृत कन्सल्टेन्सीमार्फत नगरपालिकामा आएका निवेदन तथा आवश्यक कागजात रुजु गर्ने, सम्बन्धित फाँटमा सिफारिस गर्नेजस्ता चरण पार गर्दै शाखा प्रमुखले दस्तखत गरेपश्चात् प्रमुख प्रशासकीय अधिकृतले दस्तखत गरी स्वीकृत हुने गर्छ ।”

अनलाइन माध्यमबाटै घरनक्सा पासको रकम भुक्तानीको व्यवस्थापन, डिजिटल दस्तखतको प्रयोगमा जोड दिँदै आगामी दिनमा यसलाई अझै प्रभावकारी तरिकाले अगाडि बढाउने तयारी भइरहेको अर्यालले बताए ।

फाइल बोकेर सेवाग्राही कार्यालयसम्म आउन नपर्ने, काम छिटो छरितो र पारदर्शी हुने, कागजातहरु अनलाईनमै सुरक्षित रहने भएकाले पछि खोज्दा सजिलै प्राप्त गर्न सकिने भएकाले पनि ईवीपीएस प्रभावकारी बन्दै गएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस