व्यावसायीकतामा जोड दिन ‘बाख्रा उपहार’

सफल खबर संवाददाता

शनिबार, १६ बैशाख २०८०, ०८ : ४६
व्यावसायीकतामा जोड दिन ‘बाख्रा उपहार’

रामपुर । तरकारी खेतीमा आबद्ध रहेकी पाल्पा रामपुरकी भगवती देवकोटाको दिनचर्या यतिबेला बाख्रापालनमा जोडिएको छ।

रामपुर नगरपालिका- ६ की उनले घरमा लगाएको तरकारी, अन्नबाली तथा फलफूल खेतीमा मलको व्यवस्थापन र आयआर्जनका निम्ति बाख्रापालन गरेकी हुन्।

तरकारी खेती गर्ने क्रममा रामपुर नगरपालिका र ‘हेफर प्रोजेक्ट नेपाल’को सहयोगमा उपहारस्वरुप बाख्रा पाएपछि देवकोटा खुसी छन्। बिना लगानी उपहारका रूपमा पाएको बाख्राबाट व्यावसाय बढाउँदै जाने उनको सोच छ।

‘आफूले लगानी नगरिकन उपहारस्वरुप माउँ बाख्रा पाएकी छु, यसलाई घरमा राम्रोसँग पालनपोषण गरेर व्यावसायिकरुपमा अगाडि बढाउनेछु, तरकारी खेतीमा पनि बाख्रापालन गरेपछि मलको समस्या भएन’, देवकोटाले भनिन्। उनको घरमा अहिले पाँच माउँ बाख्रा र एउटा खसी छ।

देवकोटाले तालपोखरा स्वावलम्बन महिला समुहमार्फत बाख्रा उपहार पाएकी छन्। बाख्राबाट धेरै पाठापाठी उत्पादन गरेर आम्दानीको दीगो स्रोतका रुपमा व्यावसायिक तवरबाट काम गर्ने उनले बताइन्।

रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक साझेदारी तथा पछौटेपन उन्मलन समाज (बेस) नेपालको सहजीकरणमा कृषि तथा पशु उद्यमशीलता परियोजना सञ्चालनमा छ। परियोजनाअन्तर्गत नगरपालिकाभित्र गठन भएका २० स्वालम्वन महिला समूहमा २१ उन्नत जातको बोयर क्रस बीउ बोका वितरण गरिएको छ। हालसम्म परियोजनाबाट ४१ महिला स्वावलम्बन समुह, दश युवा समूह गठन, उपहार समूह ३१ रहेका छन्। यी समूहमा परियोजनाका गतिविधि सञ्चालन भइरहेका छन्।

परियोजनामार्फत गठन भएका महिला समूहमा परियोजना सुरु भएदेखि (आर्थिक वर्ष २०७७/७८) को असारदेखि हालसम्म रामपुरमा ३६१ उन्नत जातका प्रजननयोग्य माउँपाठी वितरण गरिएको छ। अहिलेसम्म परियोजनाले रामपुरभित्र ३५ वीउ बोका उपलब्ध गराएको छ।

महिलाको आम्दानीसँग जोड्नका लागि बाख्रापालन, कृषि, स्थानीय जातका कुखुराको प्रवद्धन कार्य भइरहेको छ। समूहको संस्थागत विकासका लागि मासिक बैठक बस्ने, बचत उठाउने र लगानी गर्ने, प्राविधिक छलफल, खोर निर्माणमा अनुदान, पाँच माउँ बाख्रा भएकालाई खोर बनाउन सहयोग, क्षमता विकासका विभिन्न तालिम, साना पशुका लागि जुकामाटेको औषधि, लहरेबालीका बीउबिजन वितरण भइरहेको रामपुर कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाका संयोजक सन्जु परियारले बताए।

घरको कामसँगै बाख्रापालन गरेर महिलालाई जीविकोपार्जन गरेर आत्मनिर्भर बनाउन नगरपालिकाले माउँ बाख्रा तथा समूहलाई बीउका लागि बोका उपलब्ध गराइरहेको नगर उपप्रमुख बालकुमारी थापाले बताइन्।

‘उन्नत जातका बाख्रापालन गरी नगरलाई मासुमा आत्मनिर्भर बनाउन बाख्रापालन कार्यक्रममा जोड दिइरहेका छौँ, बाख्रापालक किसानलाई प्रोत्साहन गर्दै नगरले आवश्यकता र किसानको मागको आधारमा विभिन्न सहयोगका कार्यक्रम गर्नेछ’, उनले भनिन्। यहाँ किसानले आधुनिक प्रविधिका खोर निर्माण, स्थानीय खरी तथा बोयर क्रस जाता बाख्रा पाल्दै आएका छन्।