म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ राम्चे काफल डाँडाका जगबहादुर फगामी बाख्रा पालनबाट आत्मनिर्भर बनेका छन्।
रोजगारको सिलसिलामा तीन वर्ष मलेसियामा बसेर काम गर्दा कम्पनीले पारिश्रमिक नदिएर धोका दिएपछि उनले गाउँमै फर्किएर बाख्रा पालन सुरु गरेका हुन्।
‘विदेशको ठक्करले गाउँ फर्किएर एउटा बाख्रा किनेर खेतीकिसानी गरेर परिवार चलाउनथालेको थिएँ, बाख्राले जुम्ल्याहा पाठा पाठी जन्माउन थालेपछि बाख्राको सङ्ख्या बढ्दै गयो, पछि राम्चे बाबा समूहको ५३ वटा बाख्रा दुई लाखमा खरिद गरेर बाख्रा पालनलाई व्यावसायिक बनाएको हुँ,’ फगामीले भने।
उनी अहिले गाउँमै उपलब्ध स्रोत, श्रम र सीपको सदुपयोग गर्दै आत्मनिर्भर बन्न सकिन्छ भन्ने उत्कृष्ट उदाहरणको पात्र बनेका छन्।
उनले विगत ६ वर्षदेखि बाख्रा पालनलाई व्यवस्थित र व्यावसायिक बनाएका छन्। फगामीले सञ्चालन गरेको ‘सुतारे एकीकृत कृषि तथा पशुपक्षी फर्म’मा अहिले १५० वटा बाख्रा छन्। फर्ममा रहेका ४० वटा माउ बाख्रा ब्याउने छन्।
चाडपर्व र विभिन्न पूजा आजामा खसीबोका र पाठा पाठीको बिक्री हुने गरेको छ । उत्पादन भएका खसीबोका गोठ र खोरबाटै बिक्री हुने गरेको बाख्रा पालक कृषक फगामीले जानकारी दिए । उनकाअनुसार, बाख्रा पालनबाट मासिक ४० हजारदेखि ५० हजारसम्म आम्दानी हुने गरेको छ।
फर्ममा फगामी दम्पतीका साथै छोरा बुहारीले बाख्राको रेखदेख र स्याहार गर्दै आएका छन् भने चरन क्षेत्रमा लैजानका लागि एक जनालाई रोजगारीसमेत दिइएको छ। हिउँद याममा बेसीका फाँटमा खेतबारीमा घाँस खुवाएर मल बनाउने बाख्रालाई जेठ लागेपछि भने ढरुवा, धौलापारा, साँधीखर्कलगायतका लेकाली क्षेत्रका वनजङ्गलमा चरनका लागि लैजाने गरिएको छ।
बाख्रा पालनबाट स्वरोजगार र आत्मनिर्भर बनेका फगामीले बाख्रा पालनसँगै भेडापालन गर्ने योजनासमेत बनाएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ साउन २०८२, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महिलालाई आत्मनिर्भर बनाउँन गाउँपालिकाको बाख्रा उपहार
हुम्लामा बाढीपहिरोले भेडी गोठका २६ बाख्रा पुरिए
९ हजार बढी बाख्रालाई पीपीआरविरुद्धको खोप
चेपाङ महिलालाई बाख्रा वितरण
मनहरीमा बाघले मार्यो ७ वटा बाख्रा