सकारात्मक प्रतिक्रियाबाट उत्साहित छु : जितनारायण श्रेष्ठ

सफल खबर संवाददाता

आइतबार, १० बैशाख २०८०, ११ : ०९
सकारात्मक प्रतिक्रियाबाट उत्साहित छु : जितनारायण श्रेष्ठ

चितवन । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले आफ्नो पक्षमा सकारात्मक माहोल रहेको दाबी गरेका छन् । मतदानस्थल पुग्दा आफ्नो पक्षमा उत्साहजनक स्थिति बनेको पाएको उनको भनाइ छ ।पत्रकारहरुसँग कुरा गर्दै श्रेष्ठले उपनिर्वाचनमा हाम्रै भाइ, हाम्रै छिमेकी, हाम्रै दाइ, हाम्रै छोराले चुनाव लड्या छ भन्ने ढंगबाट रेस्पोन्स पाउँदा उत्साहित भएको बताए । ‘मतदाताहरुको आँखामा आँखा जुधाएर हेर्दा पनि निर्वाचन जित्ने कुरामा विश्वस्त छु,’ श्रेष्ठले भने ।

 

नेपाली कांग्रेस चितवनका पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार हुन् । उनको प्रतिस्पर्धा रास्वपाका पार्टी सभापति रवि लामिछाने र नेकपा एमालेका रामप्रसाद न्यौपानेसँग भइरहेको छ ।११ मतदान स्थलमा पुगिसकेको र सबै ठाउँबाट सकारात्मक प्रतिक्रिया पाइरहेको श्रेष्ठले बताए । तर उपनिर्वाचनमा आम निर्वाचनमा जस्तो मत नखस्ने अनुमान गरिएको उनले बताए ।उपनिर्वाचन सीमित ठाउँमा मात्र भएकाले कतिपय मतदाताहरुलाई विदा लिएर भोट हाल्न आउन नसक्ने स्थिति भएकाले पनि विगतको जस्तो भोट यसपटक नखस्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस