नयाँ वर्षमा प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनी

सफल खबर संवाददाता

विहीबार, ०७ बैशाख २०८०, २० : ५०
नयाँ वर्षमा प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनी

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर पठन संस्कृतिको विकासका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनी शुरू गरेको छ । प्रतिष्ठानको भानुभक्त कक्षमा वैशाख ४ गतेदेखि शुरू भएको पुस्तक प्रदर्शनीमा उल्लेख्य रूपमा पाठकको भीड लागेको छ ।

प्रदर्शनीमा प्रज्ञाले विक्रम संवत् २०३० देखि २०७९ चैतसम्म प्रकाशन गरेका पुस्तक बिक्रीमा राखिएको प्रतिष्ठानका व्यवस्थापक सुधीर ढुङ्गेलले जानकारी दिए । ३ रुपैयाँदेखि ३ हजार ३५० रुपैयाँसम्म मूल्यका पुस्तक प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद र दर्शन लगायत विषयसँग सम्बन्धित पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य, थायभू, आँगन लगायतका धेरै विषयका पठनीय एवं अति उपयोगी करीब ५०० भन्दा बढी थरिका पुस्तक एवं पत्रपत्रिका समावेश गरिएको छ ।

प्रज्ञा नेपाली बृहत् शब्दकोश र प्रज्ञा नेपाली अंगेजी शब्दकोश लगायत शब्दकोशमा १५ प्रतिशत छुटको व्यवस्था रहेको छ । प्रतिष्ठानबाट शुरू प्रकाशन भएदेखि २०७९ सालसम्मका पुस्तकमा ४० प्रतिशतसम्म छुटको व्यवस्था रहेको जानकारी पनि उनले दिए । यसभन्दा अघिका प्रदर्शनीमा साहित्यमा अनुसन्धान गरिरहेका विद्यार्थी बढी पुस्तक किन्न आउने गरेको प्रतिष्ठानले जनाएको छ ।

प्रज्ञाले वर्षमा कम्तीमा ३ पटक पुस्तक प्रदर्शनी आयोजना गर्ने गरेको छ । पृथ्वी जयन्तीको अवसर पारेर पुस महिना, नयाँ वर्षको अवसर पारेर वैशाख र प्रतिष्ठानको वार्षिकोत्सवको अवसर पारेर असार महिनामा प्रदर्शनी आयोजना हुने गरेको छ ।

प्रदर्शनीमा बाल साहित्यका पनि धेरै पुस्तक बिक्री हुने गरेको छ । दैनिक ३०० भन्दा बढी पाठकले प्रदर्शनी अवलोकन गर्न आउने गरेका छन् । पुस्तक प्रदर्शनीका क्रममा दैनिक २० हजारभन्दा बढीको पुस्तक बिक्री हुने गरेको समेत व्यवस्थापक ढुङ्गेलले बताए ।

गत वर्ष प्रतिष्ठानले पुस्तक बिक्रीबाट नै ५० लाख रुपैयाँ आर्जन गरेको थियो ।प्रज्ञाबाट प्रकाशित पुस्तक विशेष भएकाले साझा प्रकाशन र निजी प्रकाशनमार्फत सातै प्रदेशमा पुर्‍याएर प्रज्ञाको गरिमा बढाउन लागिएको जनाइएको छ । हरेक नेपालीको हात र मनमा प्रज्ञाका पुस्तक पुर्‍याउने अभियानका रूपमा पनि प्रदर्शनीलाई अघि बढाइने जनाइएको छ । गत चैतमा प्रकाशन भएका नयाँ पुस्तक पनि प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनी वैशाख १८ गतेसम्म सञ्चालन गरिने भएको छ । पाठकको रुचि भएमा केही दिन प्रदर्शनी समय बढाउन पनि सकिने प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस