स्वास्थ्यका लागि दिवा खाजा कार्यक्रम फलदायी : सञ्चारमन्त्री शर्मा

सफल खबर संवाददाता

मंगलबार, ०५ बैशाख २०८०, २० : ०३
स्वास्थ्यका लागि दिवा खाजा कार्यक्रम फलदायी : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बालबालिकाको सवल स्वास्थ्यका लागि दिवा खाजा कार्यक्रम फलदायी भएको बताएकी छन् ।

चाइना फाउण्डेसन फर रुरल डेभलपमेन्ट नेपालले मंगलबार थहिँटीस्थित शान्ति शिक्षा माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले गुणस्तरीय शिक्षाका लागि सबल स्वास्थ्य अनिवार्य शर्त रहेको बताइन् ।

दिवा खाजा विस्तार गर्ने योजनामा चीन सरकारले पुर्याएको योगदानले नेपाल सरकारले लिएको लक्ष्य प्राप्तिमा महत्वपूर्ण सहयोग पुगेको मन्त्री शर्माको भनाई छ । सरकारले विगत तीन वर्षदेखि पूर्वप्राथमिकदेखि ३ कक्षासम्म र चालु आवदेखि कक्षा ६ सम्म दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

चाइना फाउण्डेसनले काठमाडौंसहित देशब्यापी नै दिवाखाजाको ब्यवस्था गर्ने योजना बनाएको छ । यस्तै, नेपालका लागि चीनका राजदूत छन् सोङले कोरोना महामारी तथा विभिन्न प्रकोपमा चीनले नेपाललाई सहयोग गर्दै आएको बताए ।

काठमाडौँ महानगर पालिकाका प्रवक्ता नवीन मानन्धरले सो संस्थाले कामपाका विभिन्न सामुदायिक विद्यालयमा झोला, सरसफाइ सामग्री र न्यायो कपडा वितरण गर्दै आएको बताए । सो संस्थाले नेपालको शिक्षा, स्वास्थ्य, खानेपानी, पोषण, सीप तथा सामुदायिक विकासमा सहयोग गर्दै आएको छ । काठमाडौँ महानगरभित्रका १० सामुदायिक विद्यालयमा फाउण्डेसनको सहयोगमा दिवा खाजा कार्यक्रम लागू भएको छ ।

प्रतिक्रिया दिनुहोस