५९ जिल्लामा पुग्यो पाठ्यपुस्तक

सफल खबर संवाददाता

सोमबार, ०४ बैशाख २०८०, १५ : ५९
५९ जिल्लामा पुग्यो पाठ्यपुस्तक

काठमाडौं । नयाँ शैक्षिकसत्र शुरु भएसँगै देशभरका ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको छ । गत चैत २४ गतेदेखि वैशाख ३ गतेसम्म देशभरका ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रले बताएको छ ।

सोमबार पाठ्यपुस्तक बिक्रीवितरण र छपाईको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनक शिक्षा सामाग्री केन्द्रमा अनुगमन गरेको छ ।अनुगमनपश्चात जनक शिक्षा सामाग्री केन्द्रका प्रवन्धक अनिलकुमार झाले नयाँ शैक्षिकसत्रमा सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउने गरी काम भइरहेको बताए । उनले अहिलेसम्म ५९ जिल्लाका प्रत्येक विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको दाबी गरे।

उनले जनक शिक्षा सामाग्री केन्द्रले कक्षा ६ देखि १० कक्षासम्मका १ करोड ५० लाख पाठ्यपुस्तकहरु छपाईको काम सम्पन्न गरी बिक्री वितरण गरिहेको जानकारी दिए । उनले गत चैत २४ गतेदेखि देशभर पाठ्यपुस्तक बिक्री वितरण शुरु गरेको र हालसम्म ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुर्‍याइ विद्यार्थीहरुलाई विवतरण गरेको बताए ।

उनले अब बाँकी १८ जिल्लामा वैशाख १५ गतेसम्म पुस्तक पुग्ने बताए । प्रवन्धक झाले कतिपय विद्यालयहरुमा पुस्तक पुगिसकेको र कतिपय ढुवानीको क्रममा रहेको भन्दै बिक्रीवितरण गरेर ढुवानीको क्रममा रहेका पुस्तकहरु ३ दिन भित्रमा प्रत्येक विद्यालयमा पुग्ने उल्लेख गरे । उनले ढुवानीमा समय लाग्ने हिमाली र पहाडी दुर्गम जिल्लाहरुलाई प्राथमिकतामा राखेर पुस्तक बिक्रीवितरण गरेको बताए ।

उनले अहिले हिमाली जिल्लाहरुका सबै विद्यालयमा पुस्तकहरु पुगिसकेको दाबी गरे। उनले दुर्गम हिमाली जिल्लाहरु हुम्ला, डोल्पा, मुगु, जुम्ला, कालिकोट, मनाङ र मुस्ताङ जिल्लाहरुमा समेत पाठ्यपुस्तक पुगिसकेको बताए । उहाँले पुस्तक छपाई गर्ने मेसिन, जनशक्ति, बजेट र कच्चा पदार्थको व्यवस्थापन समयमा नै गर्न सकेकाले यो वर्ष विद्यालय सञ्चालन हुनुभन्दा पहिले नै विद्यालयहरुमा पुस्तक पुर्‍याउन सफल भएको बताए ।

उनले ३ वटा छपाई मेसिन खरिद गरी ८० हजार प्रतिदिन छपाई क्षमताबाट २ लाख ४० हजार छपाई गर्ने क्षमतामा पुर्‍याएकाले सहज भएको बताए। उहाँले कागज खरिदमा समस्या नहुनु,स्थायी र जेलदारीका जनशक्ति थप गर्नु र चालुपुँजीको समस्या नभएकाले समयमा नै पुस्तक छपाई गरी विद्यालयहरु पुस्तक पुर्‍याउन सकिएको बताए।

उनले राष्ट्रिय वाणिज्य बैंकबाट ७५ करोड र नागरिक कोषबाट १० करोड गरी ८५ करोड ऋण लिएर पुस्तक छपाई गरेको बताए । उनले पुस्तक बिक्रीवितरण गरेसँगै ४० करोड ऋण चुक्ता समेत गरिसकेको बताए । उनले प्रधानमन्त्री कार्यालयबाट भएको सहयोगले पनि पुस्तक छपाईमा थप सहज भएको बताए ।

केन्द्रले केन्द्रिय कार्यालयबाट कक्षा ६ देखि १० सम्मका १६ लाख १३ हजार ९५४,प्रादेशिक कार्यालय विराटनगरबाट ५ लाख ७३ हजार १४, प्रादेशिक कार्यालय जनकपुरबाट ५ लाख ७० हजार ७४६, प्रादेशिक कार्यालय भरतपुरबाट १२ लाख ७ हजार ९२०,प्रादेशिक कार्यालय पोखराबाट ७७ हजार ५ हजार ६ सय, प्रादेशिक कार्यालय बुटवलबाट ६ लाख ३४ हजार ४७४, प्रादेशिक कार्यालय नेपालगञ्जबाट १० लाख ३८ हजार, प्रादेशिक कार्यालय सुर्खेतबाट ३ लाख ५२ हजार २ सय र प्रादेशिक कार्यालय धनगढीबाट ६ लाख ६ हजार ४८१ गरी ७४ लाख ७२ हजार ३८९ पाठ्यपुस्तक बिक्रीवितरण भएको छ ।