मेरो सांसद पद खारेज भएकै छैन : ढाकाकुमार श्रेष्ठ

सफल खबर संवाददाता

विहीबार, ३० चैत्र २०७९, २१ : ४५
मेरो सांसद पद खारेज भएकै छैन : ढाकाकुमार श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को साधारण सदस्य र सांसद दुबैबाट निष्कासनमा परेका डा. ढाकाकुमार श्रेष्ठले आफ्नो सांसद पद खारेज नभएको बताएका छन् ।

बिहीबार कानुन व्यवसायीसँग परामर्श गरेपछि उनले संविधान र कानुनअनुसार आफ्नो सांसद पद यथावत नै रहेको बताएका हुन् ।

तर, रास्वपाको संसदीय दलका नेता तथा डोलप्रसाद अर्यालले भने श्रेष्ठलाई कारबाहीपश्चात् नयाँ सांसद नियुक्तिको प्रक्रिया अघि बढाउन संघीय संसद् सचिवालयलाई पत्र कोरिसकेका छन् ।

पार्टीले सांसद पदबाट निलम्बन गरेपछि श्रेष्ठले त्यस विषयमा कानुन व्यवसायीसँग परामर्श थालेका छन् । कानुन व्यवसायीसँगको परामर्शपछि श्रेष्ठे आफ्नो सांसद पद प्रक्रियागत तरिकाले नगएको बताएका छन् ।

उनका अनुसार पार्टीले प्रक्रियागत त्रुटि धेरै गरेको छ र सांसद पद खारेज भएकै छैन । साथै, उनले पार्टीले साधारण सदस्यबाट हटाउँदैमा सांसद पद नजाने पनि बताएका छन् । यदि सभामुखले आफ्नो सांसद पद रिक्त गरेर नयाँ सांसद पदका लागि सूचना जारी गरेको खण्डमा कानुनी उपचारमा जाने पनि उनले बताएका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग स्वास्थ्य मन्त्री बन्नका लागि उनले २ करोड डिल गरेको अडियो गएको आइतबार सार्वजनिक भएको थियो । उक्त अडियो सार्वजनिक भएपछि रास्वपाले अनुसन्धानपश्चात् उनलाई बुधबार पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।

प्रतिक्रिया दिनुहोस