स्थानीय तहसम्मै पार्टी रुपान्तरणको बहस चलाउनुपर्छ : महामन्त्री थापा

सफल खबर संवाददाता

विहीबार, ३० चैत्र २०७९, १८ : ५२
स्थानीय तहसम्मै पार्टी रुपान्तरणको बहस चलाउनुपर्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहसम्मै पार्टी रुपान्तरणको बहस चलाउनुपर्ने बताएका छन्।

सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आज यहाँ आयोजना गरेको ‘नेपाली कांग्रेस रुपान्तरणको एजेण्डाः के र कसरी ?’ कार्यक्रममा उनले नयाँ युगमा पार्टीलाई नयाँ ढङ्गले सञ्चालन गर्नुपर्ने बताएका हुन्। “पार्टीलाई व्यवस्थित ढङ्गबाट अगाडि बढाउन आत्मसमीक्षा, शुद्धिकरण, आत्मपरीक्षण र आत्मसम्मान जरुरी छ”, उनले भने।

महामन्त्री थापाले पार्टीका भ्रातृ संस्था र विभागले चाँडै पूर्णता पाउने बताए। भ्रातृ तथा शुभेच्छुक संस्था र पार्टीबीच कस्तो सम्बन्ध रहन्छ भन्नेबारे नीति अधिवेशनमा छलफल गर्नुपर्ने उनको भनाइ थियो । उनले कांग्रेसको अबको विचार, अबको बाटो, सङ्गठन सञ्चालनको अवस्थालगायतका बारेमा नीति अधिवेशनमा छलफल हुने बताए। पार्टीभित्र महाधिवेशनको समयमा नभइ अरु बेलामा क्रियाशील सदस्यता खुलाउने गरी तयारी भइरहेको उनको भनाइ थियो ।

महामन्त्री थापाले आठ लाख क्रियाशिल सदस्य भएको कांग्रेसभित्र सबै व्यक्तिलाई पद नहुँदा आक्रोश र कुण्ठा रहेको उल्लेख गर्दै उक्त आक्रोश र कुण्ठालाई सही ढङ्गले व्यवस्थापन हुनुपर्ने बताए। उनले सपना बोकेर हुर्किरहेको कोही पनि नागरिकले आफ्नो सपनालाई मारेर हिँड्नुपर्ने अवस्था आएकोप्रति सरकार र राजनीतिक दल गम्भीर बन्नुपर्ने बेला आएको उल्लेख गरे।

उनले नयाँ स्थापना भएका पार्टीभित्र नयाँ युवा आउनु र पुरानो पार्टीभित्र पुराना नेता हुनु स्वभाविक भएको जनाउँदै नयाँ र पुराना पुस्तालाई मिलाएर कांग्रेस अगाडि बढ्नुपर्ने धारणा राखे। सामाजिक लोकतन्त्र अध्ययन केन्द्रका अध्यक्ष मधु आचार्यले विधान प्रणाली, सदस्यता प्रणाली, प्रतिनिधित्व प्रणाली र उम्मेदवार निर्धारण प्रणाली सही ढङ्गले अगाडि बढ्न सके कांग्रेस रुपान्तरणमा सहयोग पुग्ने बताए।

प्रतिक्रिया दिनुहोस