म्यान्मा सैनिक हवाई हमला, एकसय तेत्तीस जना मारिए

एजेन्सी

विहीबार, ३० चैत्र २०७९, ११ : ५९
म्यान्मा सैनिक हवाई हमला, एकसय तेत्तीस जना मारिए

नेपिड । म्यान्माको सेनाले देशको दोस्रो ठूलो सहर मण्डले नजिकको मध्य सागिङ क्षेत्रमा अवस्थित कानबालु गाउँमा मङ्गलबार गरेको हवाई हमलामा महिला र बालबालिकासहित एकसय ३३ जनाको मृत्यु भएको छ ।  आक्रमणमा २० जना बालबालिकाले ज्यान गुमाएका तथा ५० जनाभन्दा बढी घााइते भएका अपदस्थ राष्ट्रिय एकता सरकारका मानवअधिकारमन्त्री आङ म्यो मिनलाई उद्धृत गर्दै अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्क (सिएनएन) ले जनाएको छ । 

दुई वर्षअघि सैन्य शाक्तिबाट देशको शासन सत्ता कब्जा गरेको सेनाले पहिलोपटक यति घातक एवम् भीषण आक्रमण गरेको हो । अहिले आक्रमणस्थलको आकाश वरपर सैनिक विमान उडिरहेका भएपनि हमला भने गरिउको छैन तर चिकित्साकर्मीलाई उक्त स्थलमा जान दिइएको छैन । संयुक्त राष्ट्रसङ्घका मानवाधिकार उच्चायुक्त भोल्कर टर्कले कैयौँ स्कुले बालबालिकाले ज्यान गुमाएको घातक हवाई हमलाबाट आफू आहत भएको बताउँदै दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन आह्वान गरेका छन् ।

सैनिक सरकारको विरोधमा उत्रिएकाहरूसँग हातहतियारसमेत भएकाले उनीहरूका साथै नागरिकलाई पनि लक्ष्य गरेर सेनाले हवाई आक्रमणको रणनीतिलाई व्यापक बनाएको थियो । आन्दोलन दबाउन सेनाले अन्धाधुन्ध आक्रमण गर्दै आएको छ ।  सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएको तत्कालीन बर्माको सैनिकले सोही समयदेखि क्षेत्रीय नियन्त्रणका लागि सशस्त्र जातीय समूहविरुद्ध कारबाही जारी राखेको छ । निर्मम आक्रमणका लागि परिचित म्यान्माली सैनिकको छवि इतिहासदेखि नै धुमिल छ । 

प्रतिक्रिया दिनुहोस