विमानस्थलको हेल्प डेस्कलाई प्रभावकारी बनाउन जरूरी छ : गृहमन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

शनिबार, २५ चैत्र २०७९, १९ : ३२
विमानस्थलको हेल्प डेस्कलाई प्रभावकारी बनाउन जरूरी छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । उपप्रधानमन्त्री श्रेष्ठले शनिवार विमानस्थलको अनुगमन गरेका हुन् ।  अनुगमनका क्रममा उनले विमानस्थलको हेल्प डेस्कलाई प्रभावकारी बनाउन र गतिविधिहरूलाई डिजिटल गर्न जरुरी रहेको बताए।

विमानस्थलको तत्काल र दीर्घकालीन सुधारका लागि १५ दिनभित्र पुनर्संरचना प्रस्ताव प्रस्तुत गर्न समेत उनले निर्देशन दिएका छन् । गृहमन्त्री श्रेष्ठले राष्ट्रिय सुरक्षा संवेदनशीलताको पाटोबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अत्यन्तै महत्त्वको ठाउँ भएकोले त्यसलाई कमजोर गर्ने कुनै पनि प्रवृत्ति र व्यवहारलाई छुट दिन नसकिने बताए । ‘अन्तर्राष्ट्रिय विमानस्थल भनेको राष्ट्रिय पहिचान हो’ मन्त्री श्रेष्ठले भने, ‘यहाँबाट अपराध आयात नहोस् भनेर हामी अतिरिक्त सक्रिय हुनु जरुरी छ।’

नेपाल घुम्न आउने विदेशी पर्यटक र विदेशमा रोजगारी गर्न जाने नेपाली श्रमिक दुबैप्रति विमानस्थल प्रशासन अत्यन्त सहृदयी हुनु जरुरी रहेको समेत मन्त्री श्रेष्ठले बताए । पर्यटकको प्रवेशद्वार आफैँमा त्यो देशको संस्कृति र सभ्यताको द्वार हुनुपर्ने धारणा राख्दै उपप्रधानमन्त्री श्रेष्ठले विप्रेषणबाट देशको अर्थतन्त्र धानिरहेका वैदेशिक श्रमिकलाई हेप्ने, दुःख दिने र झन्झट थोपर्ने काम सैह्य नहुने बताए ।

प्रतिक्रिया दिनुहोस