उत्तर कोरियाले साइबर हमला गरेको अमेरिकाको आरोप

एजेन्सी

मंगलबार, ०४ पुस २०७४, १० : ३८
उत्तर कोरियाले साइबर हमला गरेको अमेरिकाको आरोप

वासिङटन । यस वर्षको शुरुवातमा अस्पताल, व्यवसायदेखि बैंकहरुलाई प्रभावित पारेको ‘वानाक्राई’ मालवेर हमलाका लागि उत्तर कोरिया जिम्मेवार भएको अमेरिकी प्रशासनले ठहर गरेको छ ।

उक्त साइबर हमलामा १५० देशका ३ लाखभन्दा बढी कम्युटर प्रभावित हुनका साथै अर्बौँ डलरको नोक्सानी भएको थियो । वाल स्ट्रीट जर्नलसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगी थोमास बोसेर्टले सो आरोप लगाएका हुन् ।

अमेरिकाले मालवेरका लागि उत्तरमाथि आरोप लगाएको यो पहिलो पटक हो ।

होमल्याण्ड सेक्युरिटीमा ट्रम्पका सल्लाहकार रहेका बोेसेर्टले ‘तथ्यमा आधारित’ रहेर सो आरोप लगाएको बताउँदै बेलायत र माइक्रोसफ्टले पनि उत्तर कोरियाको सरकारसँग सम्बद्धहरुले उक्त हमला गरेको कुरा बताएको दृष्टान्त सुनाए ।

गत मे महिनामा विश्वभरका धेरै विन्डोज कम्युटरहरु लक भएका थिए । लक खोल्नका लागि साइबर हमलावरले फिरौती रकम माग गरेका थिए ।

सन् २०१४ मा सोनी पिक्चरमाथि भएको साइबर हमलामा पनि अमेरिकाले उत्तर कोरियाको हात रहेको दाबी गरेको थियो । उक्त हमला कम्पनीले किम जोङ उनबारे चलचित्र रिलिज गरेपछि भएको थियो ।

त्यतिबेला उत्तर कोरियाले तत्कालिन राष्ट्रपति बाराक ओबामाको दाबीको खण्डन गरेको थियो । पछिल्लो आरोपबारे भने उत्तर कोरियाले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

प्रतिक्रिया दिनुहोस