नेपालमा खोजी भइरहेका अमृतपाल पञ्जाबमा देखिए

सफल खबर संवाददाता

बुधबार, १५ चैत्र २०७९, १२ : ५२
नेपालमा खोजी भइरहेका अमृतपाल पञ्जाबमा देखिए

एजेन्सी।पञ्जाब प्रहरीले थुप्रै दिनदेखि खालिस्तानी समर्थक अमृतपाल सिंहबारे विभिन्न जानकारी दिइरहेको छ । केही दिन अघि अमृतपाल नेपालमा लुकेर बसेको भारतीय दूतावासले दाबी गरेको थियो । भारतीय सुरक्षा एजेन्सीको खोजीको सूचीमा रहेका अमृतपाल पछिल्लो समय पञ्जाबबाट भागेर नेपाल आएको दूतावासले बताएको छ । तर भारतीय सञ्चार माध्यमका अनुसार मङ्गलवार अबेर राती अमृतपाललाई पञ्जाबमा देखिएको छ ।

उनी पञ्जाब राज्यको होशियारपुरमा छन् र प्रहरीलाई पुनः झुक्क्याउन सफल भएका छन् । यता पञ्जाब प्रहरीले उनलाई पक्राउ गर्नका लागि मङ्गलवार अबेर राती फगवाडा–होशियारपुर रोडमा घेराबन्दीलाई तीव्र गरेका छन् । स्रोतका अनुसार होशियारपुरमा एक इनोभा कार देखिएको थियो जसभित्र अमृतपाल भएको आशङ्का गरिएको थियो । प्रहरीले सूचना पाएपछि घेर्ने कोसिस गर्दा अमृतपाल कार छोडेर गाउँमा भागेको भारतीय सञ्चार माध्यमले बताएको छ ।

रिपोर्टका अनुसार इनोभा कारभित्र अमृतपाल भएको शङ्का जताइएको थियो । उक्त कार मरनियां कलां नजिकै फगवाडा–होशियारपुर हाइवेमा भेटिएको थियो । त्यसपछि प्रहरीले पूरा इलाकामा खोजी अभियानमा तीव्रता दिएको छ । गुप्तचरले अमृतपाल होशियारपुरमा भएको सूचना कतैबाट पायो । यद्यपि, प्रहरीले यस्तो सूचना कहाँबाट पाए भन्नेबारे केही जानकारी दिएका छैनन् ।

पुनः पञ्जाबमा भएको खबरपछि उठे थुप्रै प्रश्न

यस्तै, अमृतपाल सिंह पुनः पञ्जाबमा भएको खबरले विभिन्न प्रश्न निम्तिएका छन् । उनी पञ्जाबबाट बाहिरिएका छन् भनिरहेको अवस्थामा उनी पुनः किन त्यहाँ फर्किए भनेर प्रश्न गरिएको छ । अमृतपालले आत्मसमर्पण गर्न लागेका हुन् त भनेर पनि धेरैले प्रश्न सोधिरहेका छन् । अमृतपालका काका पनि पहिला भागेका थिए, तर पछि आत्मसमर्पण गरेका थिए । प्रहरीले १८ मार्चदेखि अमृतपाल सिंहविरुद्ध कारवाही सुरु गरेको थियो ।

त्यतिबेलादेखि उनी फरार छन् तर प्रहरीले उनका जुन साथीलाई पक्राउ गरेका थिए, उनीहरूसँग कुनै ठोस् सोधपुछ नगरीकनै असमको जेल पठाइएको छ । यस्तोमा यो पूरा घटनाक्रममाथि नै धेरैले प्रश्न सोधिरहेका छन् । प्रहरीले पछिल्लो सिसिटिभी फुटेजबाट केही जानकारी दिएको छैन । दिल्ली पुलिसका वरिष्ठ अधिकारीले सिसिटिभीमा देखिएका व्यक्ति अमृतपाल र उनका सहयोगी नै हुन् त भनेर अनुसन्धान भइरहेको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस