मिटरब्याजी पीडितको समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल

सफल खबर संवाददाता

मंगलबार, १४ चैत्र २०७९, १५ : ४२
मिटरब्याजी पीडितको समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले तराईबाट आएका मिटरब्याजी पीडितको समस्या समाधान गर्न पहलकदमी लिएका छन् । गत सोमबार काठमाडौँ आइपुगेका मिटरब्याजीको समस्या समाधान गर्न तत्परता देखाएका हुन् । प्रधानमन्त्रीका स्वकीय सचिव गंगा दाहालले मिटरब्याजी पीडितको समस्या समाधान गर्न सबैभन्दा पहिले सचिवालय मार्फत काम गरेको उल्लेख गरेकी छन् ।

उनकाअनुसार तराईबाट पैदल हिँडेरै आउन थालेपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर गुनासो सुनेर सम्बोधन गर्न आग्रह गरिएको थियो । तर, प्रमुख जिल्ला अधिकारीबाट समस्या समाधान नभएपछि मिटरब्याजी पीडित ११ दिन पैदल हिँडेर काठमाडौँ झरेका हुन् । सोही क्रममा प्रधानमन्त्री प्रचण्डले मिटरब्याजी पीडितसँग छलफल गर्न गृह सचिवलाई निर्देशन दिएका थिए । लगत्तै उनीहरूको समस्या समाधान गर्न समिति गठन भइसकेको छ ।

यस्तै प्रधानमन्त्री प्रचण्डले पीडितका समस्या समाधान गर्न कानुन बनाउन तत्परता देखाएका छन् । आज बस्ने मन्त्रिपरिषद् बैठकले मिटरब्याजी पीडित सम्बन्धी विधेयक संसदमा लैजाने विषयमा निर्णय गर्ने प्रधानमन्त्रीका स्वकीय सचिव दाहालले बताइन् । सबै सरोकारवाला पक्षसंग समन्वय गरेपछि प्रधानमन्त्रीले पीडितलाई भेट्ने तयारी गरेका छन् ।