झपक्के फुल्यो आँप

रासस

मंगलबार, १४ चैत्र २०७९, ०७ : ०४
झपक्के फुल्यो आँप

तुलसीपुर । यस वर्ष दाङमा विगत भन्दा अत्याधिक मात्रामा आँप फुलेको छ । फूलले आँपको रुख नै ढाकेको छ । यसले किसानमा खुशी ल्याएको छ ।

‘अहिलेसम्म हामीले यसरी आँप फुलेको देखेका थिएनौं,’ तुलसीपुर ७ प्रसेनीका किसान नवराज सुवेदीले भने, ‘यसले हामीलाई खुशी बनाएको छ । हेर्दा पनि मनमोहक देखिन्छ ।’ 

आँप धेरै फुले पनि यसलाई जोगाउन भने चुनौती रहेको  किसान तुलसीपुर–९ निवासी दिवेश केसीले बताए । ‘हावाहुरी, असिना पानीले फूल झार्दिने हो कि भन्ने चिन्ता छ,’ उनले भने, ‘आँप धेरै फले पनि त्यसको बजारीकरण नहुँदा कुहिएर जाने हो कि भन्ने पनि चिन्ता छ ।’

यस वर्ष आँपमा ‘अनएयर’ भएकाले पनि आँपमा धेरै फूल फुलेको तुलसीपुर उपमहानगरपालिका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताए । ‘फूल फुल्ने विरुवामा १ वर्ष अनएयर र १ वर्ष अफएयर हुन्छ,’ उनले भने, ‘यस वर्ष आँपको अनएयर चलिरहेको छ, त्यसैले आँप धेरै फुलेको हो ।’

असिना, पानी, हावाहुरीले असर नगरेमा यस वर्ष आँप उत्पादन अत्याधिक वृद्धि हुने उनको भनाई छ ।  आँप उत्पादन भएपनि त्यसलाई बजारीकरणका लागि अचार बनाउनेदेखि पाक्दासम्म ध्यान दिनुपर्ने बताए । आँप बाहिरी जिल्लाबाट आयत गर्नुपर्ने अवस्था रहेको जनाउँदै यसलाई अन्त्य गर्न आँप संरक्षण तथा व्यावसायिकीकरणमा ध्यान दिनुपर्ने उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस